पटक-पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि खतरा

पटक-पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि गम्भीर समस्या हो । यस्तो जान्दा जान्दै सहरका शिक्षित महिलानै पटक- पटक गर्भ पतन गर्न अग्रसर देखिन्छन् । सरकारसमेत सहभागी भएर हालै काठमाडौं उपत्यकामा गरेको सर्वेक्षण प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।
उपत्यकाका एक हजार एक सय ७२ महिलामा गरिएको अध्ययनले एकतिहाइ महिलाले खतरा जान्दा जान्दै पटक-पटक दोहोर्‍याएर गर्भपतन गर्ने गरेको जनाएको छ ।

स्वास्थ्य सेवा भागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखा र आइपासको सहकार्यमा डाक्टर श्याम थापाको समूहले गरेको अध्ययनले काठमाडौं उपत्यकामा रहेका प्रसुती सेवा प्रदायक अस्पताल र मेरी स्टोप सेन्टरहरू समेटेको थियो ।
अध्ययनमा सरकारी क्लिनिकमा गर्भपतन सेवा लिन आएका महिलाको तुलनामा निजी क्लिनिकमा सेवा लिन आएका महिलाले एकभन्दा बढी पटक गर्भपतन गराएको देखिएको हो ।

'अरू बच्चा जन्माउन नचाहने, प्राथमिक र माध्यमिक शिक्षा हाँसिल गरेका महिलाले अन्य महिलाको तुलनामा एकभन्दा बढी पटक गर्भपतन गराएको पाइयो,' डाक्टर थापाले भने ।

बढ्दो सहरीकरण, यौन उदारता, परिवार नियोजनप्रतिको लापरबाहीपन, परिवार नियोजनका साधनको सही उपयोग गर्न नसक्दा अनिच्छित गर्भ रहने गरेको देखिएको छ । शिक्षितहरू नै पटक-पटक गर्भपतनमा संलग्न हुनुले परिवार नियोजनसित सम्बन्धित जनचेतनाको कमीभन्दा पनि बेवास्ता र लापरबाही बढी देखिने सरोकारवालाहरूले टिप्पणी गरेका छन् ।'गर्भनिरोधका प्राकृतिक पद्धति अपनाउन सकिन्छ भन्ने चेतना विकास नगरेसम्म यो समस्या समाधान हुन सक्दैन,' स्वास्थ्य सचिव प्रवीण मिश्रले भने, 'परिवार नियोजनका साधनको विकास र गुणस्तर समयानुसार परिवर्तन गर्दै प्रयोगकर्तालाई त्यसप्रति आकषिर्त गर्ने तरिकाहरू पहिचान गर्नु जरुरी छ ।'

सन् २००२ देखि नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको हो । त्यस यता हालसम्म मुलुकभरका पाँच लाख ८० हजार महिलाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सूचीकृत गरिएका सरकारी, गैरसरकारी र निजी क्षेत्रका चार सय ७८ संस्थाबाट पाँच लाखभन्दा बढी महिलाले गर्भपतन गराएका हुन् ।

अध्ययनमा नेपाल जनसांखियक स्वास्थ्य सर्वेक्षण २००६ र २०११ को तथ्यांक विश्लेषण गरिएको छ । जसमध्ये पाँच महिलामध्ये दुई जनालाई गर्भपतनसम्बन्धी कानुनको बारेमा जानकारी रहेको छ भने तीन जनालाई गर्भपतन सेवा पाइने ठाउँको जानकारी रहेको छ । २५ देखि ३४ वर्ष उमेर समूहका महिलाले सबैभन्दा बढी र पटक-पटक गर्भपतन गरेको देखिएको अध्ययनले देखाएको छ । ekantipur

प्रकाशित मिति: Saturday, December 08, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses