दुबी रोग, उपचार

छालामा आउने ज्यादै जटिल समस्याहरुमध्ये दुबी पनि एक हो । यो छाला क्रमशः सेतो भएर जाने रोग हो । यसमा छालाको रंग अन्य छालाको भन्दा क्रमशः कम रंगयुक्त हुँदै जान थाल्छ र पछि पूरै सेतो (Milky White) हुन्छ । 
कसरी हुन्छ ?
दुबी (Vitrlrgo) खास गरेर शरीरभित्र उत्पन्न हुने एन्टिबडी (Antibody) ले आफ्नो रंग बनाउने कोषहरु (Melanocyte) लाई आक्रमण गरी नष्ट पारेपछि सुरु हुन्छ ।

त्यसैले यसलाई अटोइम्युन (Autoimmune) अर्थात् शरीरलाई आफैंले आक्रमण गर्ने रोगको वर्गीकरणमा राखिएको छ । यो समस्या एक्लै वा अन्य अटोइम्युन रोगहरु जस्तै- थाइराइड ग्लान्डको समस्या, कपालको समस्यासँगै पनि आउन सक्छ ।


दुबी रोगलाई चिकित्साशास्त्रमा विभिन्न प्रकारमा वर्गीकरण गर्ने गरिए पनि यसलाई लोकलाइज्ड (Localized) र भुलगारिस (Vulgaris) गरी दुइ ठूला शर्ीष्ाकमा राखेर पनि हर्ेन सकिन्छ । लोकलाइज्ड भन्नाले कुनै खास ठाउँमा मात्र आउने रोग भन्ने बुझिन्छ भने भुलगारिस भन्नाले शरीरका अन्य अंगमा फैलिएको भन्ने बुझिन्छ । टीका लगाएको ठाउँमा मात्र आउने वा जुत्ता लगाएको ठाउँमा मात्र आउने वा कुनै कस्सिएको पेटी वा लुगा लगाएको ठाउँमा मात्र आउने दुबीलाई लोकलाइज्ड भन्ने गरिएको छ ।

त्यस्तै शरीरको जुनसुकै भाग -हात, खुट्टा, मुख, शरीर)मा देखा पर्ने दुवीलाई भुलगारिस प्रकारको भन्ने गरिन्छ । यस प्रकारको दुबी एक ठाउँमा देखा परेर बिस्तारै फैलँंदै जान्छ । यसमा पनि ओठ र औंलाका टुप्पाहरुमा आउने प्रकार (Lip- Tip) को दुबी सबैभन्दा गहन प्रकारको मानिन्छ । किनभने यसको उपचार अत्यन्त गाह्रो हुन्छ । कुनै-कुनै दुबी जन्मदादेखि नै रंगविहीन अवस्थामा देखिन्छ ।

दुबीको खास लक्षण भनेको सेता टाटा देखिनु, घाउ-चोट लागेको ठाउँ सेतो भएर आउनुका साथै टीका, सिन्दुर वा रबर, प्लास्टिकका सामानले बनेका जुत्ता, घडी लगाएको ठाउँमा रंग परिवर्तन हुनु नै मुख्य हुन् । यो समस्यामा चिलाउने, पोल्ने, दुख्ने हुँदैन । छालाको रंग बिस्तारै परिवर्तन हुँदै बढ्दै जाने वा कुनै निश्चित ठाउँमा रहिरहने हुन्छ ।
अन्य रोगहरुसँग सम्बन्ध

दुबी परिवारका अन्य सदस्यहरुलाई पनि भएको हुन सक्छ । यसकारण यो वंशाणुगत समस्या पनि हो । मधुमेह, जोर्नीका रोगहरु, थाइराइड ग्रन्थिको समस्या, चक्का-चक्का परी कपाल झर्ने आदि रोगहरुसँगै यो रोग आउन सक्छ । त्यसकारण यस रोगको अन्य रोगहरुसँग पनि सम्बन्ध छ ।

यो रोग दक्ष चिकित्सकको लागि पनि कहिलेकाहीँ झुक्याउने खालको हुन्छ । त्यसकारण उपचार सुरु गर्नुभन्दा पहिले रोग यकिन गर्न परीक्षणहरु (Biopsy) गर्ने गरिन्छ । त्यस्तै रक्तपरीक्षण, कलेजो तथा मिर्गौैलाको अवस्थाको पनि जाँच गर्नुपर्ने हुन सक्छ । यसैगरी सेतो, फुस्रो, लाटो दाग भएमा कुष्ठरोग पनि हुन सक्ने भएकाले छुट्याउन अनुसन्धान गर्नुपर्ने हुन्छ ।
अन्य सेतो देखिने रोगहरु

शरीरमा देखिने सबै सेता टाटा दुबी होइनन् । यसकारण अन्य सेता देखिने रोगहरुसँग यो रोग छुट्याउनु आवश्यक हुन्छ । जस्तै- कतिपय फङ्गल इन्फेक्सन (Fungal Infection) ले पनि सेतो दाग बनाउन सक्छ । तर त्यो दाग संक्रमणको उपचार गर्नासाथ जान थाल्छ । त्यस्तै बढ्ने उमेरमा आउने सेतो दाग (जसलाई p.alba) भनिन्छ० पनि ँसेतो’ हुनाले बच्चाका अभिभावकहरु र किशोर-किशोरीहरु डराउने गर्छन् । त्यो पनि साधारण उपचारबाट निको हुन्छ । 

त्यस्तै घामको कारणबाट पनि हातखुट्टामा सेता टाटाहरु आउँछन् । त्यस्ता टाटालाई पनि सामान्य उपचारबाट निको पार्न सकिन्छ । तर शरीरमा सेतो, खस्रो वा फुस्रो दाग आयो र लाटोपन पनि छ भने यस्तो दाग कुष्ठरोग हुन सक्नेतर्फपनि सचेत हुनुपर्छ । यीबाहेक अन्य केही जटिल रोगहरु पनि सेता देखिन्छन् ।
दुबीको उपचार

कतिपयले दुबी र्सछ भनेर अलग बस्ने, नछुने पनि गर्छन् । दुबी छोएर एक-अर्कामा र्सर्ने रोग होइन । यसकारण दुबी भएकाहरुप्रति नकारात्मक धारणा राख्नु ज्यादै ठूलो अन्याय हो । दुबीको प्रकारअनुसार उपचार विधि तय गरिन्छ । यदि साधारण एक-दुइ ठाउँमा साना टाटाहरु छन् भने लगाउने औषधिबाट मात्र पनि छालाको रंग आउँछ । धेरै फैलिएको छ भने सेक्ने प्रविधि उपयुक्त हुन्छ । उपचारका लागि विभिन्न मलहम तथा क्रिमहरु पनि छन् ।

त्यस्तै रंग आउन प्रयोग हुने विभिन्न औषधिहरु पनि छन् । यसका लागि खाने औषधि पनि पाइन्छ । तर यी औषधिहरु खाँदा सावधानी अपनाउनुपर्छ । दुबीका लागि एलोप्याथिकका साथै आयुर्वेदिक र होमियोप्याथिक औषधिहरु पनि छन् । दुबीको उपचारमा खाने र लगाउने औषधिका साथै सेक्ने प्रविधिको पनि उपयोग गरिन्छ । यसमा औषधि खाएर सेक्ने प्रविधि पनि छ । यसलाई PUVA उपचार भनिन्छ । सोरालिन भन्ने औषधि सेवनपछि UVA विकिरणबाट हप्तामा २-३ पटक सक्ने गरिन्छ । औषधि नखाईकन UVB वा अन्य विकिरणबाट सेक्ने प्रविधि पनि प्रचलनमा छ । यो साना टाटाहरुको लागि गरिन्छ ।

यसबाहेक शल्य प्रविधिबाट पनि उपचार गरिन्छ । साना-साना नबढ्ने टाटाहरुलाई हटाएर अन्य ठाउँको छाला रोप्न (Grafting) पनि सकिन्छ । सेतो दाग धेरै छ भने बाँकी छाला पनि पूरै सेतो बनाउन सकिन्छ । यसलाई पनि उपचारकै कोटीमा राखिएको छ । साना टाटाहरुमा टाटु (Tattoo) भरेर छोप्न पनि सकिन्छ । दुबीलाई अन्य अन्धविश्वासँग जोड्ने गरिए पनि यो उपचारबाट निको हुने रोग भएकाले सम्बन्धित विशेषज्ञबाट उपचार गराएर लाभ लिन सकिन्छ ।

प्रकाशित मिति: Sunday, November 06, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses