- डा सि पी सेढाई,
डिप्रेसन विभिन्न प्रकारका हुन्छन् । यो रोग यकिन गर्न यस्ता लक्षणहरू कम्तीमा २ साता रहनुपर्छ । महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ । खास कारण एकिन नभएपनि उनीहरूमा सहन सक्ने क्षमता कम हुने भएकाले यो समस्या बढी हुने गरेको अनुमान छ ।
डिप्रेसनका बिरामी नेपालमा धेरै छन् । कतिपयलाई सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरू बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छ । यो समस्याका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्छन्, आफूलाई क्यान्सर भयो भनी रुन्छन्, मर्ने भइयो भनेर आत्तिन्छन् र परिवारको बारेमा कुनै चिन्ता लिँदैनन् ।
उनीहरूले सामान्य कुरामा पनि मन थाम्न सक्दैनन् । जस्तै– सडकमा बिरामी वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन् । एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै– परिक्षमा एक पटक असफल भएमा अब फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो । कतिपय नकारात्मक सोचाइबाट पिडित हुन्छन् । मनमा यस्तो सोच्दिन भने पनि यस्ता बिरामीमा त्यस्तो सोचाइ आउँछ, जसले उनीहरू छट्पटिन्छन् । यस्ता बिरामीको मस्तिष्क परीक्षण, सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिदैन ।
प्रकार र लक्षण :
- न्यूरोटिक डिप्रेसन: यस्ता बिरामीहरू मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन् ।
- साइकोटिक डिप्रेसन: यस्ता बिरामीहरू अरू मानिसदेखि शंका गर्छन् ।
- सेनाइल डिप्रेसन: बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ । यस्ता बिरामीले प्रायः आत्महत्या गर्ने डर हुन्छ । उनीहरू एक्लै बोल्ने, एक्लैे हाँस्ने पनि गर्न सक्छन् ।
- डिप्रेसन स्टूपर: यस्ता बिरामी अत्यन्त नचली र नबोलि बस्छन् । कोही आँसु बगाउँछन् ।
- एजिटेटेड डिप्रेसन: यस्ता बिरामी अत्यन्त छटपटी गर्छन् । एक ठाउँमा बस्न सक्देैनन् । आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन् ।
- रेटाडेड डिप्रेसन: यस्ता बिरामीहरू कम बोल्छन् र टोलाउने गर्छन् ।
- बच्चामा देखिने डिप्रेसन: बच्चामा दखिने डिप्रेसन केही फरक हुन्छ । पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखिन्छ । स्वास्थ्यखबरपत्रिका
- डा. दिना श्रेष्ठ,
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।
रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
- महिनावारी नियमित नहुने
- मोटोपना
- अल्छी लाग्ने
- शरीर सुन्निने
- दिक्क लाग्ने
- अनावश्यक जाडो हुने
- कपाल झर्ने
- प्रजनन् क्षमतामा कमी आउने ।
हाइपर थाइराइडिज्म्का लक्षण
- एकदमै दुब्लाउने
- मुटुको धड्कन बढ्ने
- शरीरको तापक्रम बढ्ने
- भोक बढी लाग्ने तर दुब्लाउने
- दिसा बढी लाग्ने
- महिनावारी गडबडी
- मन आत्तिने
- मानसिक तनाव बढी हुने
- कपाल झर्ने ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल
- डा विनिता जोशी, वालरोग विशेषज्ञ, नर्भिक इन्टरनेशनल अस्पताल
चिसो मौसममा बालबालिका कमन कोल्डको समस्या सबैभन्दा बढी देखिन्छ । विशेष गरी ६ महिना देखि ३ वर्षसम्मको बालबालिकालाई यसले बढी आक्रान्त पार्छ । कमन कोल्ड अन्तर्गत रुघाखोकी र टन्सिलको समस्या प्रमुख हो ।
वातावरणमा दुई सयभन्दा बढी प्रकारका भाइरसहरु दौडिरहेका हुन्छन् । चिसो मौसममा त्यस्ता भाइरसहरु बढी सक्रिय हुन्छन् । त्यसैले यो मौसममा बालबालिकामा इन्फेक्सनको सम्भावना ज्यादा हुन्छ । यस्ता भाइरसहरु ढोकाको हेन्डिलमा, सोफामा, बालबालिकाको खेलौनामा बढी हुन्छन् । जाडोमा झ्याल ढोकाहरु प्राय बन्द गरिन्छ । चिसोका कारणले सरसफाइका काम कम हुन्छन् । यसकारण जाडोमा बालबालिलाई संक्रमणको जोखिम ज्यादा हुन्छ । यसमा पनि क्रस इन्फेक्सन बढी हुन्छ । बच्चाहरु ६ महिना पुगेपछि आमाको एन्टीबडी घट्दै जान्छ । यो बच्चा ३ वर्षको हुँदासम्म बढी हुन्छ । किनकी चिसोले समात्ला भनेर बच्चालाई गुम्म पारेर राख्ने चलन छ ।
३० दिनसम्मकालाई नवजात शिशु भनिन्छ । आमाको कोखबाट जन्मिने वित्तिकै यिनीहरुमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । भर्खरै जन्मेको बच्चाको शरिर र टाउकोको आकार मिलेको हुँदैन । टाउकोको आकार ठूलो हुन्छ । शरिरको आकार सानो हुन्छ । बच्चाको बडी सर्फेस एरिया अनुसार बच्चामा तातोपनाको बढी खपत हुन्छ । त्यसैले नवजात शिशुलाई जन्मिने वित्तिकै न्यानो गरेर राख्नुपर्ने हुन्छ ।
रोग संक्रमणको जोखिम बाह्य वातावरणका कारणले हुन्छ । बच्चाहरुलाई आफन्तहरु आउने, भेट्ने र छुने लगायतका काम हुन्छ । त्यसले संक्रमणको जोखिम बढाउँछ । नवजातहरुमा यस्तो समस्या देखिन्छ । समयमा दुध पुगेन भने ग्लुकोजको मात्रामा कमी हुने सम्भावना पनि बढी हुन्छ ।
एक दुई महिनादेखि एक वर्षका बच्चाहरुमा भने फरक खालको समस्या देखिन्छ । आमाकै दुध खाने बच्चाहरुमा तुलनात्मक रुपमा इन्फेक्सनको समस्या कम हुन्छ । तर, त्योभन्दा माथिको उमेरको बालबालिकामा रुघाखोकी लगायतको समस्या देखिने हुन्छ । त्यो बाहेक ५\६ महिना काटेपछि ठोस पदार्थहरु दिने गरिन्छ । जसले पखाला हुने, पेट दुख्ने, अपच हुने लगायतका समस्या देखिन सक्छन् ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जन्मेको ६ महिनासम्म शिशुहरुलाई आमाको दुध मात्रै खुवाउनुपर्छ । यस अवधिमा अरु केही नखुवाउँदा पनि पुग्छ । छ महिनादेखि दुई वर्षको उमेरसम्म ठोस पदार्थ पनि दिने र आमाको दुध पनि दिने हाम्रो प्रचलन छ । जो आमाहरु यस अवधिमा घरमा बस्नुहुन्छ, उहाँले दुध मात्रै चुसाउँदा राम्रो हुन्छ । । कामकाजी आमाहरु पनि हुनुहुन्छ भने ब्रेस्ट पम्पबाट दूध निकालेर स्टोर गर्ने र चाहिएको बेला खुवाउने गर्नुपर्छ । छ महिनासम्मको लागि यो उपाय राम्रो हो । छ महिनापछि भने आमाको दुधमा हुने क्यालोरी कम हुँदै जान्छ । त्यसैले ६ महिनापछि ठोस पदार्थ खुवाउन सुरु गर्नुपर्छ । ठोस पदार्थ सुरु गर्दा लिटोबाट सुरु गर्नुपर्छ ।
लाग्न सक्ने रोग
बालबालिकालाई रुघाखोकीमा पनि इन्फ्लुएन्जाको डर बढी हुन्छ । यो भाइरसबाट लाग्ने रोग हो । त्यसमा कडा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । बच्चामा कानको समस्या र दमको समस्या पनि हुन्छ । चिसोमा संक्रमण कारण बालबालिकामा दम र कोल्ड डाइरिया पनि हुन सक्छन् । यदि बच्चालाई चिसो लाग्ने खतरा धेरै छ भने यसबाट जोगाउनुपर्छ । संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्छ । श्वास फुलेको चाल पाएमा नजिकको स्वास्थ्य संस्थामा लिएर जाँच गराउनुपर्छ । स्वास्थ्यखबरपत्रिका
- डा सोनिया गुप्ता
विशेषगरी मोटो मान्छेको घाँटी नजिकको छालामा सानोसानो मासु पलाएको जस्तो देखिन्छ । यसले हेर्दा मात्रै नराम्रो देखिने तर त्यस्तो असर नपार्ने भएकाले वास्ता गरिएको पाइदैन । यस्तो भएको मान्छेलाई मधुमेह भएको हुनेसक्ने संभावना धेरै हुन्छ । छाला सुख्खा हुँदै जानु थाइराइडको संकेत हो । छालाको कलर परिवर्तन भएर पहेँलो हुँदै गएको छ भने लिभरमा गडबडी भएको देखिन्छ । त्यसैगरी रगतको क्यान्सर, पेटको क्यान्सर, मृगौलाको रोगका संकेत पनि छालामा देखिने गरेका छन् । रोगले आक्रमण गर्न थालिरहेको अवस्थामा देखिने यी संकेतलाई वास्ता गरिएको पाइदैन । शरीरका अरु अंगले संकेत देखाउने अवस्थासम्म आइपुग्दा रोगले ग्रस्त नै पारिसकेको हुन्छ । जसले स्वास्थ्य कमजोर हुने र आर्थिक ब्ययभार थप्ने गर्छ ।
विशेषगरी राम्रो देखाउनका लागि छालाको हेरचाहमा ध्यान दिने गरेको पाइन्छ । सौन्दर्य छालामा झल्किने भएकाले यसलाई स्वस्थ राख्न अनेकबिधी गर्न थालिएको हो । तर, बाह्य कारणले मात्रै छाला बिग्रिदैन भन्ने कुरामा कसैले पनि ख्याल गर्र्दैनन् । बाह्य कारणले बिग्रिएको भन्दै छाला जोगाउन जति प्रयास गरिन्छ, त्यो भन्दा अघि बुझ्न जरुरी हुन्छ कि यो भित्री रोगका कारण बिग्रदै गइरहेको त छैन ?
पछिल्लो समय चाहिनेभन्दा बढी सौन्दर्यप्रेमी हुँदै गइरहेको छ, हाम्रो समाज । त्यसैले छालालाई सुन्दर बनाउन र जोगाउने सल्लाह ब्युटिसियन वा यस्तै कोहीबाट लिने गरिएको छ । छालामा समस्या देखिदा पनि ब्युटी पार्लरतिर धाइरहेका हुन्छौँ । सबै प्रकारका छालाका समस्याको बाह्य रुपमा समाधान खोज्ने परिपाटीले गर्दा रोग बढ्दै जाने र पैसा पनि खेर गइरहने हुनसक्छ । कतिपय अवस्थामा गलत पद्दती अपनाएर रोग निको हुँदा पनि छाला राम्रो नहुने अवस्था आउन सक्छ ।
अरु रोग लाग्दा तुरुन्तै डाक्टरकोमा पुगेजस्तै छालामा देखिने समस्याका लागि पनि डाक्टरसँग परामर्श गर्दा राम्रो हुन्छ । जसले एकातिर रोगको निदान खोज्न सघाउछ भने अर्कातिर छाला बिग्रिनबाट जोगिन्छ । स्वास्थ्यखबर पत्रिका
- सुस्मिता बस्नेत (नर्स)
रिमा गर्भवती हुँदाको कुरा हो। उनको पेटमा तीन महिनाको गर्भ थियो। पेशाले उनी नर्स हुन्। एक महिनादेखि टिचिङ अस्पतालको आई.सि. यू मा कार्यरत थिइन्।
आई.सि. यू बेड न:९ मा ब्रेन हेमरेज भएको बिरामी भर्खरै मात्र अप्रेसन थिएटरबाट रिसिव गरिएको थियो। झन्डै ८० के.जी जतिको देखिने ती . बिरामीको अवस्था नाजुक थियो। बिरामीलाई भेन्टिलेटरबाट श्वास फेराई राखिएको थियो भने ब्लड प्रेसर कम भएकाले प्रेसर बढाउने औषधि, रगत र स्लाइन पनि संगसंगै दिई राखिएको थियो। सबैजना मिलेर बिरामीलाई अप्रेसन ट्रलीबाट उचालेर आई.सि. यू बेडमा सारियो।
बिरामीलाई स्टेबल गरिसके पछि रिमा र मैले बिरामीको डाडमा घाउ नहोस् भनेर ओल्टाई कोल्टआइ तेल लगाईदियौं। रिमा बिरामीको कुरूवालाई भर्ना सम्बन्धी जानकारी दिदै थिइन्,म चाहिँ औषधिको लिस्ट तयार पार्दै थिएँ।
यतिकैमा बेडकै छेउ मा राखिएको मनिटरले बिरामीको मुटुको चालको गति शून्य देखाएपछि रिमा हत्त न पत्त बेडमाथि चढेर बिरामीको छाती थिच्न लागिन्। झन्डै १५ मिनेट जति छाती थिचेर औषधि दिएपछि बिरामीको मुटुको धड्कन पून : चल्न थाल्यो। यतिकैमा मेरो छेउमै उभिएकी रिमाले मलाई कोट्याउदै रिंगटा लाग्यो मात्र के भनेकि थिइन् लगत्तै भुइमा लडिन्।
बल्ल तल्ल रिमालाई उठाएर कुर्सीमा राख्यौ। भेइन खोलेर सलाइन दिएको केहि बेरपछि उनको होस आयो। ‘ब्लिडिङ भए जस्तो छ,’ उनले भनिन्। रिमाको कम्प्लिट अबोर्सन अर्थात् गर्भ तुहिएछ। स्त्रि रोग बिशेष़ज्ञ डाक्टरले जाँचिसके पछि रिमालाई कम्तिमा एक महिनाको लागि पूर्ण रेष्ट गर्न भन्नुभयो।
रिमाले एक महिनाको बिदा फारम भरेर इन्चार्ज दिदिलाई बुझाइन्। फारम देख्ने बित्तिकै दिदीले अलि कड्कदै भन्नुभयो,’ तिमीलाई थाहा थिएन र आई.सि.यू मा धेरै काम हुन्छ, मोटो मोटो बिरामी उचाल्ने सार्ने गर्नुपर्छ भनेर? फेरि गर्भवती हुँदाहुँदै किन आई.सि.यू आएकी? अहिले त्यसै त यहाँ स्टाफ कम छन्, म तिमीलाई यति लामो बिदा दिन सक्दिनँ। ‘रिमाले आँखा भरि आँसु बनाउदै भनिन्, ‘दिदि आई.सि. यू मा स्टाफ कम छन् भनेर सुपरभाईजरले मलाई यहाँ पठाउनु भएको। मैले त गर्भवती छु भनेर पनि भनेकी थिएँ।’
अबोर्सन हुने नर्समा रिमा पहिली थिइनन्। उनीभन्दा अघि अरू तीनजना साथीहरूको अबोर्सन भएको थियो। दुई जनाको डाडको हड्डी खिएको थियो त एक जनाको खुट्टाको नसामा रगत जमेकाले औषधि खाईरहनु परेको थियो। गर्भवती महिलाले फस्ट र सेकेन्ड ट्रिमेस्टरमा आफ्नो शरीरको विशेष़ ध्यान पुर्याउनुपर्छ। गर्हौ भारि बोक्ने, गह्रौ समान उचाल्ने जस्ता कामहरु गर्न हुँदैन।
अस्पतालहरुमा बिरामीको चाप र नर्सको अनुपातमा ठूलो अन्तर छ। स्वदेशमा काम नपाएर नर्सहरू बिदेसिएको सुनिन्छ भने अस्पतालहरू सकेसम्म कम जनशक्तिको प्रयोग गरेर मुनाफा कमाउन सिपालु देखिन्छन्। नर्सले गर्भवती हुँदा जम्मा एक महिनाको बिदा पाऊछिन् भने २ महिनाको सुत्केरी बिदा। यो त सरकारी अस्पतालको कुरा भयो प्राइभेट अस्पतालहरुको त कुरै छाडौ।
कामको भार त छँदै छ तोकिएको समयभन्दा बढी समय बिदा बसेमा जागिर च्वाट्। बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको मात्र दुध खुवाउनु पर्छ भनेर सिकाउने नर्सहरू आफूचाँही २ महिनाबाटै ल्याक्टोजेन खुवाउन बाध्य छन्।
सात दिनको बिदा सकेर रिमा काममा फर्किन्। अबोर्सन भएको एकमहिना बित्दा पनि उनी कम्जोर देखिन्थिन् र ज्यादै मलिन पनि। उनलाई त डिप्रेसन भएछ। यो कुरा थाहा पाएर कार्य क्षमतामा आँच आउन सक्ने भनेर नर्सिङ प्रसाशनले रिमालाई राजीनामा दिन लगायो।
आउने फेब्रुअरीमा रिमा र उनको श्रीमान् अस्ट्रेलिया उड्दै छन् भन्ने थाहा पाएर म उनलाई भेट्न गएँ। रिमाले रूदै भनिन्,‘विदेश नगएर के गर्नु? मेरो पेशाले नै मेरो बच्चाको ज्यान लियो। अब जन्मने सन्तानलाई जानी जानी मृत्युको मुखमा धकेल्न चाहन्न।’
मसँग उनलाई सम्झाउन सक्ने कुनै शब्द थिएन।
हिजै मात्र स्काइपमा मेरो र रिमा को कुरा भएको थियो। उनको पेटमा त फेरि पनि ९ महिनाको गर्भ बसिसकेको रहेछ। उनी स्वस्थ र खुसी देखिन्थिन्। कुरा गर्ने क्रममा उनले भनिन्,’हेर् सुस्मिता, मैले बिदेशमा आएर नर्सिङ पेसाको महत्व र गरिमालाई बुझेँ। यहाँ त नर्सहरुलाई आम मानिसहरुले एन्जलको रुपमा हेर्दा रहेछन्। अस्पतालहरूले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य, सुरक्षा र जव स्याटिस्फ्याक्सनलाई प्राथमिकतामा राखेको हुँदो रहेछ।
गर्भवती महिलालाई त अझ धेरै सुविधा हुन्छ। सबैले माया गर्छन् र सम्मान् पनि त्यतिकै। बच्चालाई दुध खुवाउन भनेर सबै जसो अस्पतालमा फिडिङ रूमको व्यवस्था गरिएको हुन्छ। अब त मैले त्यागिसकेको पेशालाई पनि फेरि अंगाल्ने निर्णय गरेकी छु। यतिमात्र होइन म त मेरो गर्भमा भएकी छोरीलाई पनि नर्स नै बन्न प्रेरित गर्नेछु।’
टिट… टिट… फोन काटिएछ। बिजुली गयो, वाइफाइ पनि गयो । मैले रिमालाई भन्न चाहेका कुराहरु सम्झिए,‘तिमि फेरि नर्स बन्न चाहेको कुरा सुनेर म धेरै खुसी भए। तर तिमीले अब नेपाल फर्कनु पर्छ। यहाँको रोगी बिरामीलाई तिम्रो खाँचो छ। बिदेसमा सिकेका कुराहरुलाई तिमी, म र हामी जस्ता नर्सहरु मिलेर स्वदेशमा लागू गर्नुपर्छ।
परिवर्तन एक व्यक्तिबाट नै सुरु हुने हो, यो एक रातमा हुने कुरा चाहिँ होइन तर असम्भव पनि त छैन।
साभार सेतोपाटी
गोपाल छाङछा राई
यलम्बर फाउन्डेसन, जातीय संग्रहालयको पहलमा डा. जगदीश रेग्मीको टोलीले बनाएको ‘किरात येले प्रथम पञ्चाङ्ग पात्रो’ शनिबार पर्यटन बोर्डको सभाहलबाट अशोक राईले सार्वजनिक गरेका छन् । उक्त पात्रोमा किरात संम्वत ५०७३ लाई घटाएर ३७९२ उल्लेख गरिएको छ । यसरी हचुवाका भरमा बनाइएको पात्रोले किरातीहरुमा भ्रम छरेको छ । यो पात्रो आदिवासी जनजाति समूहले बनाएको पनि होइन र दुई चारजनाले भ्रम छर्दैमा किरात येले सम्वत ५०७३ वर्षबाट एकाएक ३७९२ मा झर्दा पनि झर्दैन ।
प्रमाण हेर्दा किरातका पहिलो राजा यलम्बर भए भन्ने कुरा वंशावलीका आधारमा गरिएको हो । यदि हामीले वंशावलीलाई छोड्यौं भने यलम्बर राजा र अन्तिम किराती राजा जिते दास्ती रहेको कूरालाई मान्नै सक्दैनौं । अर्को प्रमाण नपाउन्जेली वंशावलीलाई आधार मान्नुपर्छ । किरात वंशावली अहिलेभन्दा ६ सय वर्ष अगाडि बनेको हो । गोपाल वंशावली स्थिति मल्लका पालामा बनेको हो । यो भन्दा अर्को बलियो प्रमाण नपाउँदासम्म किरातकालको यही अकाट्य प्रमाण हो ।
यसलाई हामी कसैले त्यसै छाड्न सकिँदैन । किरात कालमा कसैले ३२ राजा, कसैले २९ राजा भनेका छन् । किरात राज्यकाल थियो नै । नेपाल प्रज्ञा प्रतिष्ठानले २ वर्ष अगाडि इतिहासकार विद्धान दिनेशराज पन्तद्वारा लेखिएको प्रथम किरात राजा यलम्बर समय पुस्तकमा पनि यो कुरा पुष्टिसहित उल्लेख छ । अहिलेसम्म हाम्रो लिखित इतिहास लिच्छवी कालदेखिको मात्र छ, अब हामीले किरातकाल देखि शुरु गर्नुपर्छ । यो कूरा इतिहासकार दिनेशराज पन्तले बताएका हुन् ।
किरातकालीन इतिहास अपूर्ण छ, यसको खोजी र अनुसन्धान गर्नुपर्छ । त्यसैका लागि इतिहास पढ्नुपर्छ । किरातकालीन येले संम्वत ५०७३ किरात, लिच्छविकालीन भाषा वंशावलीका विभिन्न संस्करणहरुमा कलिगत १२ वर्ष बाँकी छँदा द्वापर युगमै फलाना राजा भए भन्ने उल्लेख छ । कलिगतको शुरु र किरात राज्यको शुरुवातको भाषा वंशावलीमा उल्लेख भएको पाइन्छ । त्यो वंशावली हामीले आजभोलि वा ५०-७० वर्षयता बनाएको होइन । यो अप्रमाणित कुरा हो ।
कसै कसैले पाटनको शिलालेखमा लेखिएको भेटिएको येले सम्वत्का आधार मानी किरात येले सम्वत कलिगत ५०७३ लाई घटाएर किरात येले संम्वत ३७९२ मा झार्नु यूक्ति र प्रमाण संगत हुँदैन । यलम्बर फाउन्डेसन र नेपाल राष्ट्रिय जातीय संग्राहलयले संयुक्तरुपमा बहसका लागि लोकापूर्ण गरेको किरात पञ्चाङ्ग पत्रको ३७९२ सम्वत माली गाउँमा एक व्यक्तिको घरमा जग खन्दा भेटिएको जय बर्माको मूर्तिमा विक्रम सम्वत् २४२ लेखिएको छ । जुन मूर्ति हाल छाउनीस्थित म्यूजियममा छँदै छ । १०७ लाई शक संम्वत मानेपछि वि.सं. २४२ हुन्छ । त्यहाँदेखि लिच्छवीकाल शुरु भयो रे । वि.सं. २४२ मा वा १ वर्ष अगाडि किरात काल टुंगियो भन्ने कल्पनाको आधारमा येले संम्वत घटाइएको होला ।
किरातहरु नेपालमा कहाँबाट आए, कति वर्ष शासन गरे भन्ने कुराको इतिहास अहिलेसम्म फेला पर्न सकेको छैन । यस विषयमा खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । नेपालका कुनै पनि इतिहासकार र पन्तले पनि यो कुरा बताउँन सक्दैनन् । इतिहासमा प्रश्न धेरै उठ्छन् । यसको उत्तर हुँदैन । यसमा जानेको कुरा जानेको छ नजानेको कुरा जानेको छैन भनेर जानु पर्ने इतिहासकार ज्ञानमणि नेपाल बताउँ छन् । तर, दुर्भाग्य हाम्रो देशमा अनुसन्धान गर्ने नाममा भए नभएका कूराहरु निकाल्ने, भ्रमको खेती गर्ने गर्छन् । इतिहासको खोजी गर्दैनन् । गहिरो अध्ययन, अनुसन्धान गर्दैनन् । लिपीको वास्तविक अर्थ खोज्दैनन् अनि समावेशी र समानुपातिक नाममा जे पनि ब्याख्या गरिदिन्छन् ।
किरात वंशावली र इतिहासको बीचमा छुटेका कुरा खोज्नु पर्छ । कलिगत आधारित किरात येले संम्बत ५०७३ चलाईदै आएको छ । यो संम्वतलाई विना आधार र प्रमाण घटाएर ३७९२ बनाइएकोमा कतै यो ठिक छैन कि भन्ने उनीहरुको मनमा पनि परेरै होला, बहसका लागि भनेर किरात पञ्चाङ्ग पत्र लोकापर्ण गरिएको धेरैको आशंका छ । बहसको निम्ति त्यस्तो निकाल्नु अगाडि इतिहासकार, भाषावीद्ध, पुरातत्व वीद्ध, पचाङ्गविद् राखेर वृहत छलफल चलाउनुपर्दथ्यो । इतिहासबारे सामान्य जानकारी भएका, आदिवासी जनजाति समूदायका नेता, लेखक जनजाति लेखक मात्र राखेर सामान्य छलफल गरेर यले संम्वत घटाइनु राम्रो होइन । यो किरात समुदायबाटै आफ्नो इतिहास मेट्ने साजिस भैरहेको त होइन भनेर किरात समुदाय, किरात जाती, समुदायका संघ-संस्था, राजनीतिज्ञ, लेखक, विद्धान व्यक्तित्व, साहित्यकार, इतिहासकार, पत्रकार आदिले गम्भीर प्रश्न उठाउन थालेका छन् । आशंका व्यक्त गरेका छन् ।
कलिगत किरात संम्वत ५०७३ मा १२८१ वर्ष घटाएर किरात येले संम्वत ३७९२ कायम गर्दा विक्रम संम्वतलाई निरन्तरता दिने ब्राहृमणवादी अनुदारवादी र कट्टर हिन्दुवादी समूदाय र विश्वका सबै संम्वतलाई मटियामेट गरी आफ्नो मात्र इस्वी संम्वत् सञ्चालन गर्न चाहने ईसाइवादी विश्व साम्राज्यवादी शक्ति निकै खुशी र प्रसन्न देखिएका होलान् र छन् । किरात समूदायबाट आफ्नो कलिगत संम्वतका विषयमा भ्रम सिर्जना गर्दा उनीहरुलाई इस्वी संम्वत र विक्रम संम्वत भूमिपुत्र आदिवासी समूदायलाई लाद्न सजिलोसमेत बन्ने स्थिति पैदा भएको सर्वत्र महसूस भएको छ ।
प्रज्ञा प्रतिष्ठानले निकालेको प्रथम ‘किरात राजा यलम्बरको’ समयको किताबमा कलिगत संम्वत र किरात शासनका बारेमा धेरै नयाँ इतिहासका कूराहरु उल्लेख छन् । त्यसमा भएका किरातकालीन इतिहासको कतै खण्डन नभई कलिगत संम्वत घटाउनु उपयुक्त नहुने, इतिहासमा थप भ्रम पैदा गर्नु मात्र भएको इतिहासकार तथा लेखक पन्तले ठोकुवा गर्दै चुनौती दिएका छन् ।
यलम्बर संम्वत, येले संम्वत, नेपाल संम्वत, शक संम्वत भनेको हामीले आफ्नो पूर्खालाई सम्मान गर्ने संम्वत हो । विक्रम संम्वत, नेपाल संम्वत वा इस्वी संम्वत त्यसवखत देखि चलेर आएको संम्वत हो । यलम्बरका समयमा येले संम्वत चलेको थियो र नै चल्दै आएको हो । सबै जात जातिको पुर्खा खोजी गर्ने, जातीय उत्थान गर्ने सिलसिलामा खोजी, अनुसन्धान गर्दै जाँदा येले संम्वत, कलिगत ५०७३ वंशावलीमा पाइयो ।
हाम्रा वंशावलीमा भनिएका कतिपय कुराहरु नमिलेका पनि छन् । अहिलेभन्दा २५० वर्ष अगाडिका पृथ्वीनारायण शाहका बारेमा पनि कतिपय कूराहरु नमिलेका छन् । जुनबेलाका तात्कालीन प्रमाण नपाइएका कुराहरु वंशावली भाषा वंशावलीको खोजी नीति गरे सहयोग पुग्न सक्छन् । हाम्रो अध्ययनले किरातकालीन तात्कालीन प्रमाण, शिलालेख, ताम्रपत्र, अभिलेख नपाइएका हुनाले हामी वंशावलीमा लेखिएका कुराको प्रमाणलाई छोड्न सक्दैनौं । वंशावलीलाई छाडियो भने हाम्रो इतिहास नै अपूर्ण हुन्छ । अपाङ्ग हुन्छ ।
(लेखक-छहरा साप्ताहिकका सम्पादक हुन) बिचार अनलाईन खबरबाट साभार गरिएको हो ।
हास्नको लागि बाच्नु
बाच्नको लागि हास्नु !!
.
बाच्नको लागि खानु
खानको लागि बाच्नु !!
.
खानको लागि गर्नु
गर्नको लागि खानु !!
.
गर्नको लागि जान्नु
जान्नको लागि गर्नु !!
.
जान्नको लागी हुनु
हुनको लागी जान्नु !!
.
हुनको लागि नहुनु
नहुनको लागि हुनु !!
.
नहुनको लागि नहुनु
नहुनको लागि नहुनु !!
प्रकाशितः कार्तिक १८, २०६८
आकृतिले तीन चोटि मिसकल दिइसकी । किनभने मैले दिउसोको चिया संगै बसेर खान बानेश्वरको एउटा चिया पसलमा बोलाएको थिएँ । लामो समयपछिको आग्रहले मैले उसंग भेट्ने सहमती दिएको थिए । म पनि १२ वर्षअघिको मिल्ने साथीसंग भेट्न आतुर थिएँ । तर एउटा आवरण नसकि म त्यहाँ जान मिलेको छैन । किनकी १२ बजे प्रेसमा दिनुछ । फेरि केही ढिला भयो भने उसले पनि त नपर्खदी हुन् । त्यसैले १५ मिनेटपछि आइपुग्ने भनिदिएँ ।
हत्तपत्त बानेश्वर त पुगे तर आकृति थिइनन् । फोन गरेँ चिया पसलमा कफी अर्डर गरेर बसेकी जवाफ दिइन् । म त्यतै लागेँ ।
कफि पसलमा टोलाएर बसिरहेकी रहिछन् । पुग्नेसाथ उनको मोड भङ्ग भयो । म बस्न साथ कफि आइपुग्यो । कफि पिउन आग्रह गरिन् । त्यतिखेर उनको दाहिने हात देखिन । मलाई कता-कता पिडा भएको अनुभूति भयो । 'किन छक्क परेको '-सोधिन् ।
'के ही होइनु- म सहज हुन खोन्छु । कसरी यस्तो भयो मेरो सोध्ने आँट आइसकेको थिएन । सायद मेरो भाव बुझेरै होला उसले थपिन-'भोजपुर रिपिटर टावर आक्रमणमा परेको ।' थप्दै गइन-'युद्धको बेला मेरो हात गुमेको तिमीलाई मैले सुनाउन चाहिन अरुले पनि थाहा दिएनन् रहेछ ।
मैले भने-'को अरु मोर्चाका साथीहरुले ।'-कफि तान्दै-'जाबो यति सानो कुरा हल्ला गरिहिड्ने कुरो पनि भएन ।'
मलाई अनौठो लाग्यो त्यसो भन्दा । म अलमल्ल परेछु ।
'अनि के त नि '-उनले भनिन् ।
'लौ भै हाल्यो'-मैले पनि सहज बन्न खोज्दै-'अरु के छ भनन् कसरी संझयौ'
'आप्पुइ त्यस्तो पनि भन्न आउछ '-झयाम्मै कुराले हानिन् ।
'बरु तिमीले खोजखबर नगर्दा पो अचम्म लाग्यो त '-उसले थपिन् । 'तिम्रो कन्ट्याक्ट पनि त हुनु पर्यो सिन्धुली छ्यौ भन्ने सुनेथे तर कसरी कन्ट्याक्ट गर्ने मेसै पाइन ।'-मैले भने ।
'मन भए त भइ हाल्यो नि विकल्प । '-उनले थपिन्-'पढाइपछि जब् पनि खोजेनौ खाली कोठैमा घोरिएर क्यानभासमा रमाउछौ क्यारे ।
उनले मलाई ठम्याउँदा दङदास परे । मैले पहिलेकी जस्ती सोझि र निष्चल आकृति देखिन । सायद म भावुक देखिएहुला त्यसैले उनी पनि एक्कै चोटि मलिन् र भावुक देखिइन् । एकोहोरो बनेर भन्न थालिन-'मैले तिमीलाई थाहै नदिइ भूमिगत भए तिमीलाई सोध्ने भनेको थिएँ तर भेट्नै सकिन ।'
'मैले के भन्थे र तिमीलाई'-औपचारिकता दिए ।
'हैन एउटा साथीको नाताले'-उनले भनिन् ।
'म पनि त जाउ जस्तो लागेको थियो नि तर आँटै आएन ।'-उसलाई हौस्याएँ ।
'म त तिमी नजाऊ भन्थेँ'-सुझाव दिइन्-'कहिले खानै नपाउँने कहिले सुत्दै नसुति रात काटियो फेरि तिमी भावना डुब्ने मान्छे । युद्धमा तिमीलाई सकस पर्न सक्छ । मैले तिमीलाई भोजपुर आक्रमणको बेला धेरै सम्झेँ अब नबाँचिने भइयो जस्तो लागेको थियो तर बाँचियो ।'-उसले आँखाभरि आँसु पार्दै भनि । म पनि उसैको भावनामा बगेछु । मैले पनि रुमाल झिक्नै पर्यो ।
उसले थप्दै लगी-'तिमीलाई त्यस दिन मैले यसरी पनि संझे 'सफल जीवन यतिखेरसम्म रहन्छ त्यतिखेरसम्म जनता र देशले सम्झिरहनेछ ।' तिम्रो भनाइले मलाई युद्ध लड्न उक्साइ रहेको थियो । गोलीले मेरो हात चुडिएर भुइमा खसे पनि दुस्मन ढल्दा र हाम्रो विजय हुदा तिम्रो न्यानो मायाले आगालो हालेझैँ लाग्थ्यो । त्यतिखेर हाम्रा २२ साथीहरुले सहादत प्राप्त गरे । २८ दुस्मन खत्तम गर्नुका साथै त्यहाँबाट एलएमजी एकेफोटीसेभेन टुइन्च मोटर लगायतका सयौँ हतियार खोस्यौँ र सात जनालाई नियन्त्रणमा लियौँ । साडे नौ बजे आक्रमण सुरु गर्ने योजना बनाए पनि नौ बजे नै दुस्मनले थाहा पाएर फायर खोल्यो र हामीले पनि त्यतिखेरै आक्रमण गर्न बाध्य भएका थियो । हाम्रो चालले गाइ कुकुर तसर्िएर कराउन-भुक्न थाल्यो त्यसपछि दुस्मनले चाल पाएको थियो । गोगनेबाट बेलुकी चार बजेतिर भोजपुर आक्रमणको योजनामा हिडेका हामीलाई योजना सफल पार्न मात्र १५ मिनेट समय लागेको थियो । म घाइते भएपछि म लगायतका २८-२९ जना घाइते साथीहरुलाई खोटाङको डम्बर्खुशिवालयमा दश दिन सेल्टर राखियो । त्यसपछि रसुवा हुदैं सिरहाको पैदल बाटो भएर झण्डै एक महिनाको अबधिमा उपचारका लागि इन्डीया पुर्याइयो हामीलाई । यति लामो समयसम्म पीडा सहन र युद्ध लड्न तिमीमा भएको कुसल मित्रताको दरिलो साहसले मलाई निडर तुल्याइरहेको थियो ।
उसले भनेको सुनिमात्र रहेँ । उसले थप्दै लगी-'तिम्रो कोठाको माओ लेनिन रोजालक्जाम्बर्ग चेग्वेभारालगायतका साहसिक योद्धाको तस्बिर अझै छन्' 'छ'-मैले भने ।
'ए तिम्रो हातले बनाएको त्यो चित्र हेर्न एकखेप म पनि तिम्रो डेरा जान मन लागेको छ ।' -उसले इच्छा प्रकट गरिन् ।
'कहिले जाने त तिमीलाई फुस्रद भए आजै जाऊ'-मैले भने ।
'ओकेु'-उसले सहमती जनाइन् ।
मेरो डेरा पुगेपछि उनी घोप्टोपरि-परि रोइन् । किन भने सक्कली हातसहितको मलाई अङकमाल गरेकी मैले कोरेको उनको तस्बिर मेरो कोठामा मुस्कुराएको थियो । त्यतिमात्र होइन उसले मेरो जन्म दिन उपहार दिएकी म्याक्सीम गोर्कीको 'आमा' पनि प्रुेममा सजाएको थिए । म उसलाई सम्हाल्न खोज्छु ।
'एक छिन मलाई यसै हुन देऊ'-उसले अनुरोध गरिन् ।
मैले छाडि दिए ।
केही क्षणपछि उसले मुखफोरी-'तिमीले किन विहे नगरेको '
प्रशंग बदलियो ।
मैले उनलाई भन्नै सकिन ।
उसले मुख खोलिन-'यदी मेरो कारणले भए मलाई माफ गर । म अनुरोध गर्छु अब तिमीले बिहे गर ।'
म उसको कुरा मान्छु भन्न सकिन ।
'मैले विहेको कुरा किन गर्नु पर्यो र अब । मैले मन पराएको मान्छे नपाए पछि ।' -मैले सिधासिधै भनि दिएँ ।
'उसो भए संसारमा मन परेको कुरा कस्ले पाएको छ त मलाई चन्द्रमा मन पर्छ मैले पाउछु त -उसले भनिन् ।
'भैगो अब अरु भनन्'-म उसलाई ठाउँमा ल्याउन खोज्छु ।
उसले चाडै छाड्ने छाट देखाइनन् । बरु थप्न थालिन्-'मैले तिमीलाई नै मन पराएको थिए तर मेरो परिवार र समाजले तिमीसित विहे गर्न नदिने र अर्कैसंग विहे गरिदिएपछि म भूमिगत भएँ । म भूमिगत हुनका कारण त्यतिमात्र थिएन मेरो आर्थिकस्थिति पनि थियो । मेरी आमा १८ घण्टा काममा खट्नु हुन्थ्यो मेरा बा पनि उत्तिकै मात्रामा खट्नु हुन्थ्यो र पनि हामीलाई पढ्न र खानलाउन धौ-धौ थियो । त्यसको एउटै मात्र कारण थियो राज्यसत्ताको पक्षँपाति व्यवहार । मलाई तीनै कुराहरुले पनि भूमिगत हुन बाध्य तुल्यायो । म भूमिगत हुनेबेला तिमीलाई थाहा दिउला भनेको मौकै मिलेन । आजभोलिको जस्तो टेलिफोन थिएन । चिठी पठाएकी थिए तर उत्तरै आएन त्यसैले बैरागिएरै म भूमिगत भएँ । त्यसैले मलाई माफ् गर । मैले भनेको मान्छौ भने तिमीले बिहे गर ।'
उसको इच्छा पूरा गर्न म कसरी सक्छु र तर पनि ल भनिदिए । उमा एकैचोटि हिमाल हासेझै हसिलो र तेजिलो उमङ्ग देखियो । उसले भन्न थालिन्-'मसंधै तिम्रो खुसी हेर्न चाहन्छु । सधैं तिम्रो उन्नति-प्रगति देख्न चाहान्छु ।'
अब मैले उसलाई भन्नै पर्छ-'व्यक्तिगत कुराबाट माथि उठेको मान्छेले त्यसो भन्न मिल्दैन त्यसैले तिमी होसमा आऊ ।' उसले बीचैमा कुरा काटिन् र थप्दै गइन्-'त्यसो त हो तर दुःखको कुरा हाम्रा नेताहरु नै पनि माथि उठ्न सकेका छैनन् । सुविधा मोहले गाजेको छ हाम्रा नेतृŒवलाई । सिंगो राजनीतिक धारनै बिचलित बनेको छ यतिखेर । तिमीले देखेकै छौ नि हाम्रा साथीहरुको डे्रसअप मोवाइल हङ्गामा जीवनशैली आदिआदि ।
'हो मैले पनि भन्नै लागेको थिए । तिमी पनि अरुले जस्तै सिको गरिछौ भनेर ।'-उसलाई इसारा दिए ।
'हाम्रो जिल्ला लेबलकाले एउटा मोवाइल मोटरसाइकल प्रयोग गर्न पाउने भनेको छ । मलाई पनि जिल्लाले नै दिएको । कसैले महङ्गो कसैले सस्तो युज गर्छन् त्यसमा एक रुपता छैन । कसैले एकै दिनमा हजार रुपैंयाँको रिचार्ज सिध्याउछन् कसैले महिनौ दिनमा सिध्याउँदा पनि भएकै छ । त्यो पनि जनताको पैसाले किनेको । हाम्रो पार्टीको यस्ता कुराप्रति मेरो पटक्कै चित्त बुझेको छैन ।
'तिमी किन चुपलागेर बसेको त '-मैले उत्सुकता दिए ।
कत्ति कुरा उठेको थियो तर त्यत्तिकै सेलायो । अब यस्तै रहीरहे यसैभित्र बसिरहुला र जनताले त्यत्तिकै यस्तो मोज गर्न पठाहोर अर्को बिद्रोह हुनेवाला छ यसभित्र । 'कस्ले गर्छर विद्रोह '-मैले थपे ।
म जस्ता कयौं छन् युद्धदेखिकै चित्त नबुझेर बिद्रोह गर्नु पर्छ भन्नेहरु । धेरैसाथीहरु त कमाण्ड पनि पक्षपाति भयो भनेर दुःख पोख्दै थिए । मोर्चाको अघिल्लो पङ्तिमा उभिनेहरुलाई सरकारमा पुगेपछि पछिपारेकामा पनि रुष्ट छन् साथीहरु । यसरी पार्टी चल्छ त लु भन त
'मलाई तिम्रो पार्टी भित्रको के थाहा '-मैले अनभिज्ञता प्रकट गरेँ ।
खै अब त खत्तम लाग्न थाल्यो हाम्रो पार्टी पनि ।
'अब के गछर्यौ त '-म उसलाई खोसेल्न खोज्दै छु ।
'म अब फेरि युद्धमोर्चामा जान्छु जस्तो छ । त्यतिखेर तिमीले साथ दिनु पर्ने हुन्छ । त्यतिखेर कसैले पनि रोक्न सक्ने छैनन् । र अन्तमा हामीले देखेको सपना पूरा हुनेछ ।' त्यतिखेरै उनको मोवाइलमा रिङ बज्यो । कुरा गरिसकेपछि खोटाङका पार्टी इन्चार्ज प्लेन चढेर कार्यक्षेत्र जाने खबर सुनाइन् । 'म पनि आजै कार्यक्षेत्र जान्छु-उनले बताइन् ।
दिउसोको साडे चार बजिसके छ ।
'पूर्व जाने गाडीको टिकट काट्न जाऊ'-उसले आग्रह गरिन् ।
'तिमी चाहीँ किन प्लेनमा नजाने तु'-मैले सोधे ।
'मलाई प्लेन चढ्ने मन छैन ।'-सजिलै गरी भनिन्-फेरि टिकेट पनि त पाइदैन नि खोटाङ जाने साथीलाई पनि कुन दलालले मिलाइ दिएको टिकेट रे ।
आकृतिले भ्याली छाड्ने नै भइसकेपछि हामी कोठाबाट निक्यौं । बस पार्क पुगेर पूर्वको टिकट काट्यौ र आवश्यक परे फेरि सेल्टर दिनेसहमतीमा छुट्टियौं । उनी गाडीको बायाँपट्टी झ्यालबाट हात हल्लाउदै बिलिन् भइन् । म उनको अधबैसी तर शाहसिलो जागर क्यानभासमा कोर्ने मनसायले कोठा प्रवेश गर्छु । जुन मैले कोरेको चित्रले उसलाई सधै युद्धमोर्चामा उभिन प्रेरित गरिरहोस् । हो म त्यही सपनापूरा हुने चित्र कोर्न सुरु गर्छु ।
२०६५ पुस ९ बुधबार ।
साभार" फेसबुक "