सन् १२५५ साल जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प फर्कन सक्ने

आठ सय १४ वर्ष अघि नेपालका हिमालय क्षेत्रमा गएको महाभूकम्प फेरि फर्कन सक्ने एक अध्ययनले दाबी गरेको छ । फ्रान्स, सिंगापुर र नेपालका भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले नेपालमा सन् १२५५ साल जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प नेपालका हिमालय क्षेत्रमा पुनः फर्कने सक्ने देखाएको हो ।

समाचार संस्था एएफपीका अनुसार १२५५ सालमा गएको महाभूकम्पले काठमाडौँका एक तिहाइ नागरिकको ज्यान जानुका साथै हजारौँ घर तथा मन्दिर ध्वस्त भएका थिए । सोही महाभूकम्पमा परी तत्कालीन राजा अभय मल्लको समेत ज्यान गएको थियो । भूगर्भविद्हरुले पृथ्वीको सतहमा देखिने लामो चिरामा अवस्थित नदीमा रहेका अवशेषहरुको अध्ययनपछि नेपाललगायत हिमालय क्षेत्र भूकम्पीय दृष्टिले खतरामा रहेको चेतावनी दिएका हुन् । सोही चिरामा भारतीय उपमहाद्वीप प्रत्येक वर्ष ५० मिलिमिटरको गतिमा एसिया टेक्टोनिक प्लेटलाई हिर्काउँदै अघि बढेको अध्ययनले देखाएको छ ।

विज्ञहरुले गरेको ४० हजार वर्ष पुरानो कार्बनको अध्ययनमा एक ठाउँमा भूहलचल देखिएको र सो भूहलचल १२५५ साल ७ जुनमा नेपालमा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्पसंग मेल खाएको एएफपीको समाचारमा उल्लेख छ ।६ शताब्दीपछि सोही ठाउँमा अर्को चिरा परेको र त्यो सन् १९३४ मा नेपालमा गएको ८ दशमलब २ रेक्टर स्केलको भूकम्पसंग मेल खाएको अध्ययनले देखाएको छ ।

प्लेटको ठक्करबाट पृथ्वीको सतह टुक्रिएको प्रमाण नभेटिएकाले पनि अध्ययन महत्वपूर्ण मानिएको छ । अध्ययन अनुसार अर्को विनाशअघि शक्ति सञ्चय गर्न केही शताब्दी लाग्नेछ । अध्ययनमा अघिल्लो घटनाको अभिलेख नराखिने तथा प्राचीन घटना मुस्किलले सम्झिने भएकाले शताब्दीपछि हुने यस्ता घटना डरलाग्दा हुने बताइएको छ ।

प्रकाशित मिति: Tuesday, December 18, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses