उपवास बस्नाले क्यान्सरको विस्तार

बेलाबेला उपवास बस्नाले क्यान्सरको विस्तार तीव्र गतिमा हुन पाउँदैन । दक्षिण क्यालिफोर्निया विश्वविद्यालका अनुसन्धानकर्ताहरूका अनुसार उपवास बसे किमोथेरापीको बेला बढी लाभ पाइन्छ ।
साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित यो अनुसन्धानपछि नयाँ प्रभावकारी उपचार पद्घतीको विकासमा सघाउ पुग्ने वैज्ञानिकहरूको विश्वास छ । यसबारे थप अनुसन्धानसमेत जारी छ । मुसामा गरिएको प्रयोग अनुसार भोको बस्दा क्यान्सरका कोषिकाहरू सामान्य कोषिकाको दाँजोमा बढी सक्रिय हुन्छन् ।

भोको स्थितिमा क्यान्सरका कोषिकाहरू निष्क्रिय वा सुस्त रहनुको सट्टा झन् गतिशील हुन्छन् र ती कोषिकाहरू विभाजित हुन सुरु भएर अन्ततः नष्ट हुन्छन् । एक किसिमले भन्ने हो भने यो कोषिकाले आत्महत्या गरे जस्तो प्रक्रिया हो ।

क्यान्सर रोगीले किमोथेरापी पनि लिनुपर्ने हुन सक्छ । स्तन वा मस्तिष्कमा हुने र स्नायु वा तन्तुमा हुने क्यान्सर भएका रोगीले उपवास बस्दा उनीहरूमा क्यान्सरको वृद्घ मित्थर देखियो । क्यान्सर पीडित मुसालाई पनि किमोथेरापी दिँदै र भोको राख्दै गर्नाले तिनको उपचार धेरै बढी हुन सक्यो । अर्कातर्फ, भोको नराखी उपचार गरिएको मुसाको ज्यान जोगाउन सकिएन ।

उक्त अनुसन्धानमा मानिसमा उपवासको प्रभावबारे पनि सोधखोज गरिएको छ । तर यसको पुष्टिका लागि धेरै वर्षसम्मको क्लिनिकल परीक्षण आवश्यक हुन्छ ।

अनुसन्धानमा के पनि भनिएको छ भने, जुन व्यक्तिको तौल धेरै घटेको छ वा तिनमा अन्य जोखिमको खतरा छ, उनीहरूलाई उपवास राख्नु खतरनाक हुन सक्छ । क्यान्सर रोगीलाई किमोथेरापीभन्दा दुई दिनपहिले र एक दिनपछि भोको राख्दा मात्र लाभ मिल्ने उक्त अध्ययनबाट पत्ता लागेको छ । तर यो उपाय मानिसमा समेत प्रभावकारी हुन्छ कि हुन्न भन्नेबारे केही भनिएको छैन ।

प्रकाशित मिति: Wednesday, July 11, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses