सुन्दर केशका लागि कस्तो भोजन ?

चायाँ रहित तथा सलक्क परेको (सिल्की) कपालकाे चाहना सबैमा हुन्छ । लामो कपालको चाहना सबैलाई नहुन सक्छ तर सुन्दर कपालको चाहना भने सबैमा हुन्छ । चाहे महिला हुन् वा पुरुष केशको सुन्दरता व्यक्तित्वमा निखार ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । तर सबैको केश आफुले चाहेजस्तो सुन्दर नहुन सक्छ ।

केशको सरसफाइ तथा आहारविहारमा ध्यान दिन नसक्दा कपालको सुन्दरता गुम्ने मात्र होइन केश झर्ने, फुल्ने तथा चायाँ आउने लगायतका समस्या उत्पन्न हुन्छन् ।

कपाल सुन्दर तथा स्वस्थ बनाउन बाहिरी पोषण वा सरसफाइ जति महत्वपूर्ण छ भित्री पोषण वा व्यक्तिको आहारविहारको सन्तुलन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सौन्दर्य विज्ञ तथा चिकित्सकहरुका अनुसार त्यस्ता केही चिजहरु छन् जसको नियमित भोजन गर्न सकियो भने केश सुन्दर र स्वस्थ बन्दछ । केशको सुन्दरता र स्वास्थ्यका लागि आवश्यक खानेकुराहरु निम्न छन् :


१.ग्रिन टी : यसमा तौल घटाउन सहयोग गर्ने मात्र होइन पोलीफिनोल नामको तत्वले कपाललाई चम्किलो पार्ने र चायाँ हटाउने गर्छ ।

२.बदाम : ओमेगा ३ तथा पोलीफेनोल नामका तत्वले कपाललाई पोषण प्रदान गर्दछन् ।

३. हरिया सागपात : भिटामिन ए र आइरन तत्व भएकाले हरिया सागपातको भोजनले कपालमा पर्याप्त चिल्लो पदार्थ उत्पादन गरी कपाललाई पर्याप्त प्राणवायु प्रदान गर्दछ ।

४. सिमी तथा अन्य गेडागुडी : यसमा हुने भिटामिन बी लगायतका तत्वले कपाल उमार्ने हेयर फोलिकल्सलाई स्वस्थ बनाउँछ ।

५. भटमास, अण्डा तथा पनीर : यी खाद्यपदार्थमा हुने प्रोटिनले कपाललाई स्वस्थ राख्न आवश्यक केराटिन नामको प्रोटिन बनाउन सहयोग गर्छन् ।

६. आँप, किबी, सुन्तला, कागती लगायतका फलफुल : भिटामिन सी युक्त यी फलफुलले कपालको फाइबर उत्पादनमा सहयोग गर्छन् ।

प्रकाशित मिति: Sunday, May 20, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses