आज नेपाल पर्यटन बर्ष सन् २०११ को अन्तिम दिन


तामझामका साथ पर्यटन बर्षको शुभारम्भ गरे पनि लक्ष्य अनुसार पर्यटक भित्रिएनन् । नेपाल सरकारले सन् २०११ मा १० लाख पर्यटक  भित्र्याउने लक्ष्य लिए पनि वर्षको अन्त्यसम्ममा संख्यात्मक हिसाबले ७५ प्रतिशत मात्रै सफलता पाएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष जनवरीदेखि नोभेम्बरसम्ममा ५ लाख १ हजार २ सय ६४ पर्यटक भित्रिए भने डिसेम्बरको २७ दिनमा ३६ हजार ६ सय ९८ पर्यटक आए ।

चार दिनअघि प्राप्त तथ्यांकअनुसार हवाइमार्गबाट ५ लाख ३७ हजार ९ सय ६२ पर्यटक आएका छन् । पर्यटन मन्त्रालयका अनुसार स्थलमार्गबाट समेत आउने विदेशी पाहुनाको संख्या जोड्दा साढे ७ लाख पुग्न सक्छ । एघार महिनामा स्थलमार्ग भएर आउनेको संख्या १ लाख ६६ हजार पुगेको छ । सन् २०१० को १२ महिनामा हवाइमार्गबाट ४ लाख ४८ हजार ७ सय ६९ पाहुना नेपाल आएका थिए । जुन त्यतिबेलासम्मकै उच्च थियो । अहिले झन्डै २१ दशमलब ५ प्रतिशत वृद्धि भएको छ ।

सांख्यिक दृष्टिले लक्ष्यमा पुग्न नसकिए पनि सरकारी पक्षले पर्यटन वर्षलाई सफल मानेको छ । पर्यटक संख्या बढ्नुमा विद्हरू शान्ति स्थापना हुनुलाई एउटा अर्को कारक मान्छन् । त्यस्तै २०११ मा पर्यटन क्षेत्रबाहेकका निकायलाई अभियानमा सहभागी गराउन सक्नु पनि सफलताको आधार हो ।
  
उपलब्धि जस्त :-
-  भ्रमण वर्ष घोषणापछि एकै वर्षमा १० नयाँ अन्तर्राष्ट्रिय विमान कम्पनी आए । र सन् २००९ मा भ्रमण वर्षको घोषणासँगै नयाँ थपिने र पहिलेदेखि उडान गरेका कम्पनीले उडान संख्या बढाए । 

-सरकारले पनि बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्यले २०१० मा भारतसँग हवाइसेवा सम्झौता संशोधन गर्दै दुवै पक्षले साताको ३३ हजार सिट क्षमता उडान गर्न पाउने व्यवस्था गर्‍यो ।

- नेपाल/चीनबीचको सम्झौताअनुसार साताको १४ उडान गर्न पाउने व्यवस्था छ । त्यस्तै २००९ को मध्यदेखि र २०१० अन्तिमसम्म आइपुग्दा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीको संख्या २७ पुगेको थियो । यो वर्ष अक्टुबरदेखि भारतीय विमान कम्पनी इन्डिगोले सेवा सुरु गरेदेखि हाल २८ विदेशी विमान कम्पनीले वाषिर्क साढे २२ लाख सिट सुविधा दिइरहेका छन् । अकुपेन्सी राम्रो हुने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनी नेपाल उडानका लागि आकषिर्त भएको भनाई छ । 


- त्रिभुवन विमानस्थलको तथ्यांकअनुसार सन् २०११ को नौ महिनामा अन्तर्राष्ट्रिय हवाइ आवागमन १७ दशमलब ७९ प्रतिशत र यात्रु चाप १२ दशमलब ४७ प्रतिशतले बढेको छ ।

- पर्यटन वर्षलाई लक्षित गर्दै होटल क्षेत्रमा अर्बौं रुपैयाँ लगानी हुनु यसको अर्को महत्त्वपूर्ण उपलब्धि हो । पर्यटन उद्योग महाशाखाका अनुसार द इम्प्िलमेन्टिङ एक्सपर्ट ग्रुपले सिनामंगलस्थित एयरपोर्ट होटल र पुल्चोकस्थित रेडरोज अपार्टमेन्ट होटलका लागि १ अर्ब रुपैयाँ लगानी गर्‍यो । त्यस्तै नेपालगन्जमा झन्डै ४० करोडको लगानीमा सिद्धार्थ भ्यु होटल सञ्चालनमा आएको थियो । लुम्बिनीमा पनि जापानी लगानीकर्ता कासाई ग्रुपले ४६ कोठे तीनतारे होटलका लागि ५० करोड खर्च गरेको छ । धनगढीको होटल डिभोटी र महेन्द्रनगरको ओपेरा होटल पनि पर्यटन वर्षमा आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको थियो । यी दुई होटलको कुल लगानी १ अर्ब रुपैयाँ छ । तारे होटलले पर्यटन वर्षमा आउने पाहुनालाई विशेष आतिथ्य महसुस गराउन कोठाको संरचना बदल्ने, नयाँ फर्निचर जडान गर्नेलगायतका काम गरेका थिए । यसबापत होटलहरूले कोठा शुल्क २५ प्रतिशतसम्म बढाएको छ।

- राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशी पर्यटकबाट उठ्ने आम्दानीमा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ । आउने पर्यटकको संख्या बढ्नु, डलर बलियो हुनु, होटलहरूको कोठाको शुल्क बढ्नुले पर्यटन क्षेत्रको आम्दानीलाई उच्च बनाएको छ। आर्थिक सर्वेक्षण २०६७/६८ का अनुसार अघिल्लो वर्ष पर्यटन क्षेत्रबाट सरकारले २७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसपालि आएका भारतीय पर्यटकका कारण नेपालले भारतसँगको व्यापार सन्तुलनमा पनि राहत पाउने छ । जति बढी भारतीय पाहुना यहाँ घुम्न आउँछन्, उनीहरूले नेपालका लागि भारतीय रुपैयाँको सञ्चितीलाई बढाउँछन् । सरकारका लागि यो उपलब्धि हो ।

- पर्यटन व्यवसायीहरू यस वर्ष ग्रामीण पर्यटन विकास गरेको दाबी गर्छन् । खासगरी भ्रमण वर्षमा 'होमस्टे' धेरै गाउँहरूमा सुरु भएको र तीमध्ये केही निकै व्यावसायिकसमेत भइसकेका छन् । पर्यटन बोर्डअनुसार सिरुबारी, घान्द्रुक, बन्दीपुर, तामाङ हेरिटेज, सिलुङ, बरपाक, दोलखालगायत क्षेत्रमा होमस्टे विकास भइसकेको छ । तर यी सबै ठाउँको मुख्य पाहुना आन्तरिक पर्यटक नै  छ । अन्तर्राष्ट्रिय पर्यटक पुर्‍याउन यस्ता स्थानको आक्रामक प्रवर्द्धन जरुरी रहेको छ ।  


- भ्रमण वर्षले हस्तकलाको व्यवसायमा सकारात्मक प्रभाव पार्‍यो ।'पर्यटक वृद्धिका कारण हस्तकलाको बजार अहिले निकै राम्रो भएको छ,' बहुआयामिक प्रभाव पर्ने यो उद्योगले रोजगारीको अवसरसमेत बढाएको छ ।' विश्व पर्यटन संगठनका अनुसार नेपालमा आउने प्रत्येक पर्यटकले सरदर १२ जनालाई रोजगारी दिन्छन् ।

- बाह्य मुलुकमा नेपालबारे 'ट्राभल एड्भाइजरी' सकारात्मक बनाउनुले २०११ को महत्त्वलाई पुष्टि गरेको छ। नेपाल प्रवर्द्धनका लागि बेलायत र अमेरिकामा राजदूतावासले गरेको मेट्रो बस प्रचार अभियानले राम्रो प्रतिफल दिएको छ ।' यसले गर्दा यो वर्ष नेपाल आउने पर्यटकमा बेलायतीको संख्या साढे प्रतिशतले बढेको छ ।

एकातिर सरकारका पर्यटन व्यवसायसँग सम्बन्धित संयन्त्रहरू भ्रमण वर्ष सफल रहेको दावा गरिरहेका छन् भने अर्कातिर विज्ञहरू भ्रमण वर्ष भने पनि त्यस्तो उल्लेखनीय उपलब्धि केही नभएको तर्क गर्छन् । लक्ष्यअनुसार १० लाख पर्यटक ल्याउन नसक्नुमा राजनीतिक अस्थिरता, हतारमा पर्यटन वर्षको घोषणा र नेपाल वायुसेवा निगमको अस्तव्यस्ततालाई प्रमुख कारण मानेका छन् ।

केके कमजोरी भए त भ्रमण वर्षमा ? जस्तै :- 
- पर्यटन वर्षमा सरकारले मुख्य गरी भारतीय र चिनियाँ पर्यटक बढाउने लक्ष्य लिएको थियो जसमध्ये दुई लाख ६२ हजार भारतीय र १ लाख चिनियाँ पर्यटक ल्याउने योजना थियो । तर समयमै यी दुई गन्तव्यमा प्रवर्द्धनको काम हुन नसक्दा लक्ष्यअनुसार पाहुना आएनन् ।


- पर्यटकको बसाइ अवधि १६ दिन पुर्‍याउने र उनीहरूले गर्ने दैनिक खर्चलाई ४३ अमेरिकी डलरबाट दोब्बर बनाउने २०११ को अर्को उद्देश्य पनि पूरा हुन सकेन । प्राकृतिक रूपमा भएका कुरा मात्र बिक्री भइरहेको र बसाइ लम्ब्याउनलाई कुनै नयाँ गतिविधि मूलधारमा ल्याउन नसक्दा यो लक्ष्य पूरा नभएको हो । कुनै नयाँ आयाम थप्न नसक्नु हाम्रै कमजोरी हो ।' पर्यटकले यहाँ आएर गर्ने दैनिक खर्च औसत ५० अमेरिकी डलर मात्र रहेको व्यवसायी बताउँछन् । आर्थिक सर्वेक्षणअनुसार हाल घुम्न आउने पर्यटकहरू औसत १२.६७ दिन नेपाल बस्छन् । 


- पर्यटन वर्षकै कारण पहिचान भएका गन्तव्यसम्म व्यवसायीले पर्यटक पुर्‍याउन सकेनन् जब कि सरकारले २०११ मा आउने कुल पर्यटकमध्ये ४० प्रतिशतलाई नयाँ गन्तव्य र गतिविधि दिने लक्ष्य पनि लिएको थियो । यस्ता गन्तव्यमा दर्जनौं महोत्सवहरू पनि सञ्चालन भए । महोत्सवलाई व्यवसायीकरण गर्न नसक्दा प्रवर्द्धन हुन नसकेको बुझाई छ ।

- नयाँ गन्तव्य पहिचान गर्ने र त्यसको प्रवर्द्धनको पूरै जिम्मेवारी लिनुपर्ने पर्यटन बोर्डभित्रको राजनीतिक चलखेल र कर्मचारीको अराजकताको असर गन्तव्य प्रवर्द्धनमा परेको छ । निजी पर्यटन व्यवसायीले कर्मचारीले बोर्डको जागिरलाई विदेश घुम्ने अवसरका रूपमा मात्र लिएको निजी पर्यटन व्यवसायीको आरोप छ । 'नयाँ गन्तव्य जान्छु भनेर माग आए मात्र  प्याकेज बनाउने नत्र 'बोर्डले कुनै गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नसक्दा हामीले मात्र जोखिम उठाउने कुरा हुँदैन भन्ने पर्यटन व्यवसायीको  भनाई छ।' 


- बोर्डभित्र पर्यटन क्षेत्र विकासका लागि काम गर्न विभिन्न विभाग बनाइएको छ । 'तर एकअर्कामा समन्वय नै छैन,' बोर्डकै एक कर्मचारी भन्छन्, 'यस्तोमा हाजिर हुने र्फकने काम मात्र भइरहेको छ ।' राजनीतिक चलखेलका कारण बोर्डको सञ्चालक समितिदेखि प्रमुख कार्यकारी छनोटको काममा ढिलाइ भइरहेको छ । 

२ वर्ष अगाडी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री रहदा राजधानिको टुडिखेलमा एक कार्यक्रको आयोजना गरी प्रमुख राजनितिक दलहरुले पर्यटन बर्ष २०११ सफल पार्न बन्द हड्ताल नगर्ने प्रतिबद्धता जनाएका थिए ।  राजनीतिका विषयमा मतान्तर गरिरहेका दलहरूका शीर्ष नेताले एकै ठाउँ उभिएर पर्यटन विकासका लागि देखाएको ऐक्यबद्धता उदाहरणीय थियो । त्यसपछिको करिब ६ महिना मुलुकमा पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने गरी कुनै बन्द/हडताल भएनन् । तर २०११ को दोस्रो ६ महिनाको अवधिमा मुलुकका विभिन्न स्थानमा ५० को संख्यामा बन्द/हडताल भएका छन् । सबै बन्द र चक्काजामका घटनामा बढीमा ५ प्रतिशत मात्र दुर्घटना, हत्यालगायतका मुद्दामा कारबाही माग गर्दै सर्वसाधारण सम्मिलित छन् । पच्चानब्बे प्रतिशत घटना दलहरूले आफ्ना निहित स्वार्थपूर्तिका लागि जनतालाई नै दुःख दिने गरी आह्वान गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।यसरी प्रतिबद्धता कार्यान्यवन हुन भने सकेको छैन । पर्यटन बर्ष सांख्यिक  हिसाबले लक्ष्य पूरा नभए पनि पर्यटन बर्ष सफल भएको टिप्पणी हुने गरेको छ ।  

प्रकाशितः पुष १६,२०६८

प्रकाशित मिति: Saturday, December 31, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses