अपडेट
    के हो हाइपो र हाइपर थाइराइडिज्म् ?

    • डा. दिना श्रेष्ठ, 
    थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

    यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन ।

    रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।

    हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।

    युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् ।

    मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।

    हाइपो थाइराइडिज्म्का लक्षण


    • महिनावारी नियमित नहुने
    • मोटोपना
    • अल्छी लाग्ने
    • शरीर सुन्निने
    • दिक्क लाग्ने
    • अनावश्यक जाडो हुने
    • कपाल झर्ने
    • प्रजनन् क्षमतामा कमी आउने ।

    हाइपर थाइराइडिज्म्का लक्षण

    • एकदमै दुब्लाउने
    • मुटुको धड्कन बढ्ने
    • शरीरको तापक्रम बढ्ने
    • भोक बढी लाग्ने तर दुब्लाउने
    • दिसा बढी लाग्ने
    • महिनावारी गडबडी
    • मन आत्तिने
    • मानसिक तनाव बढी हुने
    • कपाल झर्ने ।

    थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । स्वास्थ्यखबरपत्रिका
    डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल

    प्रकाशित मिति: Wednesday, March 09, 2016

    यसमा तपाईको प्रतिक्रिया

    0 comments

    Write Down Your Responses