नवजात शिशुलाई हुर्काउने तरिका

  • डा विनिता जोशी, वालरोग विशेषज्ञ, नर्भिक इन्टरनेशनल अस्पताल
चिसो मौसममा बालबालिका कमन कोल्डको समस्या सबैभन्दा बढी देखिन्छ । विशेष गरी ६ महिना देखि ३ वर्षसम्मको बालबालिकालाई यसले बढी आक्रान्त पार्छ । कमन कोल्ड अन्तर्गत रुघाखोकी र टन्सिलको समस्या  प्रमुख हो ।

वातावरणमा दुई सयभन्दा बढी प्रकारका भाइरसहरु दौडिरहेका हुन्छन् । चिसो मौसममा त्यस्ता भाइरसहरु बढी सक्रिय हुन्छन् । त्यसैले यो मौसममा बालबालिकामा इन्फेक्सनको सम्भावना ज्यादा हुन्छ । यस्ता भाइरसहरु ढोकाको हेन्डिलमा, सोफामा, बालबालिकाको खेलौनामा बढी हुन्छन् । जाडोमा झ्याल ढोकाहरु प्राय बन्द गरिन्छ । चिसोका कारणले सरसफाइका काम कम हुन्छन् । यसकारण जाडोमा बालबालिलाई संक्रमणको जोखिम ज्यादा हुन्छ । यसमा पनि क्रस इन्फेक्सन बढी हुन्छ । बच्चाहरु ६ महिना पुगेपछि आमाको एन्टीबडी घट्दै जान्छ । यो बच्चा ३ वर्षको हुँदासम्म बढी हुन्छ । किनकी चिसोले समात्ला भनेर बच्चालाई गुम्म पारेर राख्ने चलन छ ।


३० दिनसम्मकालाई नवजात शिशु भनिन्छ । आमाको कोखबाट जन्मिने वित्तिकै यिनीहरुमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । भर्खरै जन्मेको बच्चाको शरिर र टाउकोको आकार मिलेको हुँदैन । टाउकोको आकार ठूलो हुन्छ । शरिरको आकार सानो हुन्छ । बच्चाको बडी सर्फेस एरिया अनुसार बच्चामा तातोपनाको बढी खपत हुन्छ । त्यसैले नवजात शिशुलाई जन्मिने वित्तिकै न्यानो गरेर राख्नुपर्ने हुन्छ ।

रोग संक्रमणको जोखिम बाह्य वातावरणका कारणले हुन्छ । बच्चाहरुलाई आफन्तहरु आउने, भेट्ने र छुने लगायतका काम हुन्छ । त्यसले संक्रमणको जोखिम बढाउँछ । नवजातहरुमा यस्तो समस्या देखिन्छ । समयमा दुध पुगेन भने ग्लुकोजको मात्रामा कमी हुने सम्भावना पनि बढी हुन्छ ।

एक दुई महिनादेखि एक वर्षका बच्चाहरुमा भने फरक खालको समस्या देखिन्छ । आमाकै दुध खाने बच्चाहरुमा तुलनात्मक रुपमा इन्फेक्सनको समस्या कम हुन्छ । तर, त्योभन्दा माथिको उमेरको बालबालिकामा रुघाखोकी लगायतको समस्या देखिने हुन्छ । त्यो बाहेक ५\६ महिना काटेपछि ठोस पदार्थहरु दिने गरिन्छ । जसले पखाला हुने, पेट दुख्ने, अपच हुने लगायतका समस्या देखिन सक्छन् ।

विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जन्मेको ६ महिनासम्म शिशुहरुलाई आमाको दुध मात्रै खुवाउनुपर्छ । यस अवधिमा अरु केही नखुवाउँदा पनि पुग्छ । छ महिनादेखि दुई वर्षको उमेरसम्म ठोस पदार्थ पनि दिने र आमाको दुध पनि दिने हाम्रो प्रचलन छ । जो आमाहरु यस अवधिमा घरमा बस्नुहुन्छ, उहाँले दुध मात्रै चुसाउँदा राम्रो हुन्छ । । कामकाजी आमाहरु पनि हुनुहुन्छ भने ब्रेस्ट पम्पबाट दूध निकालेर स्टोर गर्ने र चाहिएको बेला खुवाउने गर्नुपर्छ । छ महिनासम्मको लागि यो उपाय राम्रो हो । छ महिनापछि भने आमाको दुधमा हुने क्यालोरी कम हुँदै जान्छ । त्यसैले ६ महिनापछि ठोस पदार्थ खुवाउन सुरु गर्नुपर्छ । ठोस पदार्थ सुरु गर्दा लिटोबाट सुरु गर्नुपर्छ ।

लाग्न सक्ने रोग
बालबालिकालाई रुघाखोकीमा पनि इन्फ्लुएन्जाको डर बढी हुन्छ । यो भाइरसबाट लाग्ने रोग हो । त्यसमा कडा ज्वरो आउने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । बच्चामा कानको समस्या र दमको समस्या पनि हुन्छ । चिसोमा संक्रमण कारण बालबालिकामा दम र कोल्ड डाइरिया पनि हुन सक्छन् । यदि बच्चालाई चिसो लाग्ने खतरा धेरै छ भने यसबाट जोगाउनुपर्छ । संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्छ । श्वास फुलेको चाल पाएमा नजिकको स्वास्थ्य संस्थामा लिएर जाँच गराउनुपर्छ । स्वास्थ्यखबरपत्रिका

प्रकाशित मिति: Thursday, March 03, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses