रगत निःशुल्क:(गर्भवती र सुत्केरीलाई)

सरकारले गर्भवती र सुत्केरी महिलालाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले यसअघि गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, आइरन, क्याल्सियम चक्की वितरण र सुत्केरी सेवा निःशुल्क गराउँदै आएको थियो । तर, सुत्केरी गर्दा शल्यक्रिया गर्नुपरेमा वा अत्यधिक रक्तश्राव भएर बिरामीलाई रगत दिनुपर्ने अवस्थामा बिरामी आफैंले रगत को व्यवस्था गर्नुपथ्र्यो ।  सरकारको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमले बिरामी आफैंले रगत खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

बिरामीले समयमै रगत जुटाउन नसक्ने, आवश्यक समूहको रगत नपाइने समस्याबाट छुटकारा पाउनेछन्, स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका शिलु अर्यालले भनिन्, यो कार्याक्रम लागू भएपछि बिरामीलाई जुनसुकै समूहको रगत आवश्यक भए पनि समयमै उपलब्ध गराइनेछ । सरकारले यस वर्षदेखि २६ वटा जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा यो कार्यक्रम लाने तयारी गरेको हो । सुगममा भएका अञ्चल अस्पतालबाहेक दुर्गम ठाउँमा जहाँ शल्यक्रिया गराइन्छ, बिरामीलाई रगत दिइन्छ त्यस्ता स्वास्थ्य संस्था र अस्पतालमा कार्यक्रम लैजान लागेको डाक्टर अर्यालले जानकारी दिइन् । दैलेख, बैतडी, अछाम, भोजपुर, खोटाङ लगायत २६ जिल्लामा कार्यक्रम पुर्‍याइनेछ ।

जिल्लामा कति रगत आवश्यक पर्छ भन्नेबारे विवरण आइनसकेको उनले जानकारी दिइन् । काठमाडौंको प्रसूतिगृहमा मासिक तीन सय १३ महिलालाई रगत दिनुपरिरहेको तथ्यांक छ । सामान्यतया शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि १र२ पोका (प्वाइन्ट) रगत आवश्यक पर्छ । एक पोका बराबर तीन सय मिलिलिटर हुन्छ । कार्यक्रम अन्तर्गत एक बिरामीका लागि दुई हजार मिलिलिटरसम्म रगत निःशुल्क वितरण गरिनेछ ।
यसअन्तर्गत सरकारी स्वास्थ्य प्रयोगशाला (पब्लिक हेल्थ ल्याबोरेटरी) मार्फत रेडक्रस सोसाइटीसँग सहकार्य गरी रगत उपलब्ध गराउने तयारी भइरहेको छ । प्रयोगशालामार्फत रेडक्रस सोसाइटीलाई रकम बुझाइने र रेडक्रसले आवश्यक समयमा रगत वितरण गर्ने सम्झौता गरिएको छ । यस वर्षदेखि सुरु गर्न लागेको निःशुल्क रगत वितरण कार्यक्रमका लागि सरकारले २० लाख रुपैयाँ बजेट छुटयाउने भएको छ ।
ekantipur

प्रकाशित मिति: Saturday, August 11, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses