नेपालमा बेचिने लिपस्टिकहरू अमेरिकी मापदण्डभन्दा १४५० गुणा बढी हानिकारक

लिपस्टिक लगाउने महिलाहरूले त्यो प्रशाधनले जीवनभर आफ्नो सौन्दर्यवर्धन मात्रै गरिरहेका हुन्नन् । विश्वव्यापी तथ्यांक अनुसार, त्यस्ता महिलाले बाँचुन्जेल तीन किलोजति लिपस्टिक अज्ञानतावश खाइसकेका पनि हुन्छन् । लिपस्टिक लगाएर खानेकुरा खाँदा वा ओठलाई जिब्रोले चलाउने गर्दा त्यसको थोरैथोरै अंश निलिने पनि हुन्छ । रमाइलो त के भने, पुरुषहरूले पनि जीवनभर करिब एक किलो लिपस्टिक उदरस्थ गर्छन् । यसको कारण भनिरहनु नपर्ला ।

लिपस्टिक लगाएर चिरिच्याँट्ट पर्ने वा चुम्बनको आकर्षणमा लिपस्टिकको ख्याल नगर्दा यो स्लो पोइजनका रूपमा हाम्रो शरीरमा पुगिरहेको हुन्छ । दिनमै पटकपटक लगाइने र शरीरभित्र छाला र मुखको माध्यमले प्रवेश गर्ने लिपस्टिक खतरामुक्त नहुने अनुसन्धाताहरूको दाबी छ । यसमा अत्यधिक मात्रामा लिडको मात्रा पाइएको छ । लिडको उपयोग विभिन्न रंगको लिपस्टिक बनाउन गरिन्छ । लिड अर्थात् सिसा प्रकृतिमा पाइने घर्षण थेग्न सक्ने, सघन, प्वालहरू भएको नीलो, खैरो रंगको धातु हो । यसको उपयोग पाँच हजार वर्षदेखि हुँदै आएको छ । हाल लिडको प्रयोग विभिन्न प्रकारका शृंगार प्रशाधनमा समेत गरिएकोले यसले मुख्यतः बालबालिका र महिलाको स्वास्थ्य मा नकारात्मक असर पारिरहेको छ ।

जन स्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिफेड) ले नेपालमा पाइने लिपस्टिकको परीक्षण गर्दा नमुनाहरूमा सिसा (लिड) को मात्रा अमेरिकी मापदण्डभन्दा १४५० गुणासम्म बढी पाएको छ । अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को तथ्यपत्र अनुसार, लिपिस्टिकमा लिडको मात्रा ०.१ पीपीएमभन्दा बढी हुनु हुँदैन । सिफेडको परीक्षणमा नेपालमा पाइने विभिन्न ब्रान्डका लिपस्टिकहरूमा लिडको मात्रा ३० देखि १४५ पीपीएमसम्म पाइएको थियो । परीक्षणमा सबैभन्दा बढी १४५ पीपीएम म्याक ब्रान्डको रगत जस्तो रातो रंगको लिपस्टिकमा पाइएको थियो । यो लिडको निर्धारित मात्राभन्दा १४५० गुणा बढी हो ।

लिपस्टिकमा भएको घटक तत्त्व यसको लेबलमा उल्लेख नभइरहेको तर्फ औंल्याउँदै धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यस्तो स्थितिमा एफडीएले मान्यता दिएको बाहेक अन्य लिपस्टिक उपयोग गर्नु जोखिमपूर्ण हुन्छ । गुणस्तरहीन  लिपस्टिकहरूले स्वास्थ्य मा गम्भीर असर पार्न सक्छ ।' उनका अनुसार, रातो रंगका लिपस्टिकहरूमा बढी लिड हुने भएकोले अर्कै रंगका गुणस्तरीय लिपस्टिकको प्रयोग गर्नुपर्छ ।

सिफेडको परीक्षणको नतिजा अनुसार, नेपालमा बेचिनेमध्ये लोरियल पेरिस ब्रान्डको लिपस्टिकमा लिडको मात्रा सबैभन्दा थोरै अर्थात् ३० पीपीएम पाइयो । तर यो पनि अमेरिकी मापदण्डभन्दा ३ सय गुणा बढी हो । सिफेडको परीक्षणमा रेभ्लोन, ल्याक्मी, सिसिडो, डिली, च्यानल र मिडी जस्ता ब्रान्डहरूमा लिडको मात्रा क्रमशः ४०, ५०, १२३, १०१ र ११६ पीपीएम पाइएको थियो ।

'हाम्रो परीक्षण अनुसार सबै लिपस्टिकमा पाइएको लिडको औसत मात्रा ९०.१२५ पीपीएम छ । यसको तात्पर्य नेपाली महिलाले अमेरिकी मापदण्डभन्दा ९०१ गुणा बढी हानिकारक लिपस्टिक लगाउने गर्छन् ।' सिफेडका कार्यकारी निर्देशक, वातावरण वैज्ञानिक रामचरित्र साह भन्छन्, 'परीक्षणको लागि प्रयोग गरिएका नमुनाहरूका बट्टामा लिडको मात्रा बारेमा कुनै जानकारी दिइएको थिएन ।'

विदेशमा सौन्दर्य प्रशाधनलाई खाद्य तथा औषधि प्रशासनले हेर्ने गरेको छ । नेपालमा भने सौन्दर्य प्रसाधनको अनुगमन तथा मुल्यांकन गर्ने कुनै आधिकारिक निकाय छैन । साह भन्छन्, 'तपाईं महँगो लिपस्टिक उत्पादन किन्नुहुन्छ भने पनि त्यसमा लिड छैन भनेर ढुक्क नहुनुस् ।' हाम्रो मुलुकमा जुनसुकै मूल्यका लिपस्टिकमा लिडको मात्रा मानव स्वास्थ्य को लागि निर्धारित स्तरभन्दा निकै बढी पाइने गरेको छ ।

लिड छाला, श्वासप्रश्वास वा खानाको माध्यमले मानव शरीरमा प्रवेश गरे यसले विषाक्त प्रभाव देखाउन थाल्छ । मानव शरीरको लागि लिड आवश्यक हुँदैन । त्यसैले यसको थोरै मात्राले ठूलो असर गर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, लिड धातुबाट मानिसलाई कुनै किसिमको जैविक फाइदा हुँदैन । शरीरमा धेरै मात्रामा लिडको उपस्थितिबाट स्नायु, प्रजनन जस्ता थुप्रै प्रणालीलाई क्षति पुग्छ । मृगौलालाई असर गर्छ, उच्च रक्तचाप, रक्तअल्पता हुन सक्छ ।

'लिडले बाल्यावस्थामा मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पुर्‍याउँछ,' स्नायु रोग विशेषज्ञ डा. वसन्त पन्त भन्छन्, 'अनिद्रा हुने, टाउको दुख्ने, मन विचलित हुने, छारे रोग लाग्ने, चिडचिडोपन विकास हुने र अचेत अवस्थामा पुग्ने सम्भावना पनि हुन्छ ।' नपुंसकता पनि हुन सक्छ ।

गर्भवतीहरू लिड विषाक्ततामा परे गर्भपतनसँगै बाँझोपनको खतरा उत्पन्न हुन जान्छ । डा। पन्तका अनुसार, लिडले गर्भस्थ शिशुको हाड र अन्य अंगहरूलाई हानि पुर्‍याउँछ ।

'सम्भव भएसम्म गर्भावस्थाभन्दा अघिदेखि नै अत्यधिक र निरन्तर रूपमा लिपस्टिक लगाउनबाट जोगिनु नै राम्रो हुन्छ,' डा। पन्तको सुझाव छ । लिडले मृगौला र स्नायुमा बढी क्षति पुर्‍याउने उल्लेख गर्दै वीर अस्पतालका डा। अनिलकुमार मिश्र भन्छन्,

'कसैको बंगारामा ब्लू लाइन देखिनु पनि लिड विषाक्तता हो ।'
Ekantipur

प्रकाशित मिति: Saturday, August 25, 2012

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses