यौनआनन्द कसरी प्राप्त गर्ने?

  • डा. राजेन्द्र भद्रा 
लिङगको योनिमा प्रवेशपछि वीर्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुषमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यसको लागि एकातिर यौन उत्तेजनात्मक कुरासम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौनसंवेदनशील अंगहरूकै सीधा घर्षण । यौनसम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो ।

प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुआत नै एकै पटक योनिमा लिङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौनप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ ।

एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।  सामान्यतया योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौनक्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसै–कसैले यस किसिमको यौन क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौनक्रियाक्लाप गरेर एक–आपसको यौनउत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ ।

त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यसैगरी शरीर तथा यौनांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो ।  यसो गर्दा आफ्नो यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, हल्का चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ ।

यस किसिमको प्राक्क्रीडाले यौनआनन्दलाई चरम विन्दुमा पुर्‍याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ । आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘समं+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् । स्वास्थ्य खबर पत्रिका

प्रकाशित मिति: Saturday, January 30, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses