महिलाहरूका तमाम समस्यामध्येको अति जटिल र संवेदनशील समस्या हो पाठेघर खस्ने








पाठेघर खस्नुअघिको हेलचेक्रयाइँ र पाठेघर खसिसकेपछि उचित उपचार नपाउनाले महिला पीडित छन् । पाठेघर खस्ने समस्याले महिलाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै सामाजिक, शारीरिक र पारिवारिक दाम्पत्य जीवनसँगै भावनात्मक विकार पैदा भई जीवन नै निरर्थकतामा परिणत भएका थुप्रै उदाहरण हाम्रासामु छन् ।


परम्परागत शैलीमा असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या प्रशस्त भेटिन्छ । सुरक्षित गर्भपतन गराउने कानुनी व्यवस्था हुँदाहुँदै कतिपय महिलामा कानुनी सेवाको बारेमा जानकारी नहुँदा समस्या भोगिरहेका छन् भने कतिपय महिला आफ्नै हेलचेक्रयाइँका कारणले मृत्युको मुखमा पुग्न बाध्य छन् । गाउँघरमा अझै पनि असुरक्षित गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव हुने, पाठेघरमा घाउ भई क्यान्सरसम्म हुने, पाठेघर खस्ने, तल्लो पेट दुख्ने, अकालमा मृत्यु हुने र बाँझोपनको सम्भावना हुन्छ । असुरक्षित गर्भपतन गराउँदा हुने जोखिमका बारेमा पर्याप्त जानकारी नहुनु र सुरक्षित गर्भपतन गराउने सेवामा महिलाको सहज पहुँच नभएका कारण अझै महिलाहरू असुरक्षित गर्भपतन गराइराखेका छन् । महिलाहरूको पाठेघर खस्नुका विभिन्न कारणमध्ये असुरक्षित गर्भपतन गराउने कारण पनि प्रमुख रहेको छ । पाठेघर खसेर महिलालाई समस्या हुँदाहुँदै पनि समाज र परिवारबाट अपहेलित भइन्छ कि भनेर कसैलाई नभनेर लुकाएर राख्ने परम्पराले गर्दा यो समस्या जटिल बन्दै गएको हो । ग्रामीण क्षेत्रमा यसरी पाठेघर खसेर मरणतुल्य हुँदाहुँदै पनि घरको सम्पूर्ण कामहरू गर्नुपर्दा महिलाहरूको स्वास्थ्य स्थिति झन् नाजुक बन्दै गइरहेको छ ।


पितृसत्तात्मक समाजका कारण महिलाको सानै उमेरमा विवाह हुनु, सानै उमेरमा बच्चा जन्मिनु, छोराको आशामा धेरै छोरी जन्मिनु, जन्मान्तर पनि छोटो हुनु, गर्भवती समयमा राम्रो खानपान नहुनु, सुत्केरीको १०, १५ दिनमै ओखलमा धान कुट्नुपर्नेलगायत अन्य बोझिला घरायसी कार्य गर्नुपर्ने, दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु र अन्य घरेलु हिंसाका कारणले महिलाहरूको पाठेघर खसेको पाइन्छ । समाजमा अन्य महिलाको पनि पाठेघर खसेको छ ।


यो समस्या सबैमा छ, मेरो पनि यस्तै त हो भनेर कसैलाई पनि नभनी लुकाउने कारणले पनि महिला सदियौंदेखि पीडित बन्दै आएको देखिन्छ । महिलाहरूलाई बच्चा पाउने र काम गर्ने मेसिनका रूपमा मात्र हेरिएको छ । हिमाल, तराई, पहाड जता पनि यो समस्या छ । महिला स्वास्थ्यको अधिकार र पाठेघर खस्ने सवाललाई गम्भीर रूपमा लिई चेतना जगाए मात्र पाठेघर खस्नेको संख्यामा कमी आउनेछ ।

प्रकाशित मिति: Monday, July 11, 2011

यसमा तपाईको प्रतिक्रिया

1 comments

It is an important artical for all, which would be helpful to all with thanking to Disuja.

Write Down Your Responses