यौन सम्पर्कबाट जिका भाइरस सरेको पुष्टि

एजेन्सी, अमेरिकी मुलुकमा महामारीको रुप लिएको जिका यौन सम्पर्कबाट सर्ने गरेको  सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो । 

ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ । जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ ।

जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो।

यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ ।

ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ ।

अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ ।

वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।
स्वास्थ्यखबर पत्रिका

प्रकाशित मिति: Wednesday, February 03, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses