यसरी पक्राउ परे १२ नक्कली डाक्टर ( फोटो फिचरसहित)

  • अनिल न्यौपाने 
काठमाडौं – नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेका १२ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले देशका विभिन्न स्थानबाट पक्राउ गरेका छन् ।

पक्राउ परेकामध्ये दुई जना सरकारी अस्पतालमा नै कार्यरत थिए भने एक जना एमबिबिएस विद्यार्थीलाई पढाइरहेको अवस्थामा फेला परेका थिए ।

ब्यूरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को सहयोगमा ‘अप्रेसन क्वाक’ नाम दिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्रका आधारमा ८ जनाले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेको पाइएको छ भने ४ जना अनुत्र्तिण रहेका छन् । नक्कली प्रमाणपत्रबाट एमबिबिएस अध्ययन गरी लाइसेन्सिङ परीक्षा उत्र्तीण भएकाहरुले लाइसेन्सिङ परीक्षामा पनि खेताला लगाएको हुन सक्ने आशंकामा थप अनुसन्धन शुरु गरीएको प्रहरीले जनाएको छ ।

नक्कली डाक्टर नै एमबिबिएस पढाउने !

ब्यूरोबाट खटिएका टोलीले अनुसन्धान गर्ने क्रममा नक्कली प्रमाणपत्रका आधारमा नै रुसबाट  एमडी पास गरेकी बिनिता यादवले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई समेत पढाइरहेको पाइएको थियो ।

ब्यूरोका डिआइजी हेमन्त मल्लले चिकित्सक नाम दर्ता प्रमाण परीक्षा (लाइेसेन्सिङ)मा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरी सोही आधारमा लाइसेन्स लिएर डाक्टरका रुपमा काम गरेको, चिकित्सक दर्ता परीक्षा उत्र्तिण नै नभई डाक्टर भन्दै सर्वसाधरणको उपचार गरीरहेको भन्ने गुनासा र केही प्रमाणपत्रका आधारमा ‘अप्रेसन क्वाक’ सुरु गरीएको बताए । उनका अनुसार अप्रेसन क्वाकको प्रारम्भिक छानबिन हुँदा १२ जनाले विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरेको फेला परेको हो ।


पक्राउ पर्नेमा झापा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्धिकी छन् ।
यस्तै जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलबस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह छन् ।

यिनीहरु मध्ये एसएलसी र प्रमाणपत्र तहको नक्कली बनाउने २ जना छन् भने बाकी १० जनाले भारतबाट नक्कली बनाएको खुलेको छ । यसरी नक्कली प्रमाणपत्र बनाएकाहरुमध्ये पाकिस्तान, रुस, भारत र बंगलादेशमा पढेका १/१ जना छन् भने ५ जनाले चीनबाट एमबीबीएसको प्रमाणपत्र ल्याएका हुन् । अनि भारत, बंगलादेश र पाकिस्तानबाट बीडीएस गर्ने १/१ जना छन् भने एकजनाले फिलिपिन्सबाट एमडी समेत गरेको खुलेको छ ।

पक्राउ पर्नेमध्ये काउन्सिलको लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुनेहरुमा भगवान केवट मल्लाह, सन्तोषकुमार यादव, शैलेन्द्रकुमार महतो, मोहम्मद कमरुल हक, तुल्सी कुमार महतो, श्याम बाबु साह, बिनिता यादव र रामबाबु गिरी रहेका छन् । यिनिहरुले लाइसेन्स परीक्षामा अर्कै विद्यार्थीलाई परीक्षा दिन लगाएको आशंकामा पनि अनुसन्धान अगाडी बढाइएको छ ।

डाक्टर लाइसेन्स खारेज, ३ वर्ष कैद हुने
पक्राउ परेकामध्ये सबैलाई ब्यूरोले आइतबार अदालतमा ठगीको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता अनुसार सबैको लाइसेन्स खारेज हुने छ । उनले काउन्सिल ऐन अनुसार ३ वर्षसम्म कैद वा ३ हजार जरिवाना र दुवै सजाय हुने छ । यिनीहरु सबैलाई दुवै सजाय गरिने अधिकारीले जानकारी दिए । यसैगरी ठगी र नक्कली प्रमाणपत्रका आधारमा समेत कारवाही प्रक्रिया अगाडी बढाइने तयारी भएको छ ।

नक्कली डाक्टर को कहाँ एमबिबिएस पढेका ?
नाम                                               देश                                  शिक्षण संस्था
१ भगवान केवट मल्लाह                चिन                                 हुवे मेडिकल कलेज
२ सन्तोषकुमार यादव                    चिन                                ताइसन मेडिकल कलेज
३ शैलेन्द्रकुमार महतो                    इन्डिया                            डा. एसएम नाक्वी इमाम डेन्टल कलेज
४ मोहम्मद कमरुल हक                 पाकिस्तान                       डेमन्ट मोरेन्सी कलेज
५ तुल्सी कुमार महतो                      चिन                               छेङचाउ कलेज
६ श्यामबाबु साह                              चिन                             वेफाङ मेडिकल युनिभर्सिटी
७ बिनिता यादव                             बंगलादेश
८ रामबाबु गिरी                               बंगलादेश                      युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज
९ पशुपती चौधरी                            इन्डिया                          पटना मेडिकल कलेज
१० मो अहमद सिद्धिकी                    पाकिस्तान                   सिन्ध मेडिकल कलेज
११ कल्याण विश्वास                        चिन                            विफाङ मेडिकल युनिभर्सिटी
१२ अफजल हुसैन                              रुस                             स्टेट निकाविक युनिभर्सिटी


पक्राउ पर्नेहरु



स्वास्थ्यखबर पत्रिका

प्रकाशित मिति: Saturday, February 06, 2016

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses