छालामा खैरो वा नीलो रंग


अधिकांश व्यक्तिको शरीरका विभिन्न भागमा जन्म समयदेखि नै छालामा विशेष चिनो हुने गर्छ । तर, अनुहारसहित शरीरको देखिने भागमा भएको यस्तो चिनोले पछि सौन्दर्यसम्बन्धी समस्या उत्पन्न गर्ने गरेको छ ।
'अधिकांश जन्मचिनो समयसँगै हराउँछन्,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र्र कर्ण भन्छन्, 'हाल प्रायः सबैजसो बर्थ मार्कको उपचार सम्भव छ । जस्तोसुकै बर्थ मार्क भए पनि हिनताबोधसँग बाँच्नुपर्ने स्थिति अब छैन ।'
धेरैजसो जन्मचिनोले कुनै शारीरिक समस्या उत्पन्न गर्दैन । कुनैकुनैको उपचार गर्ने आवश्यकता पनि हुँदैन । चिकित्सा विज्ञानमा जन्मचिनो हुनुको कारण भने अझै ज्ञात छैन । जन्मका बेला छालामा धेरै प्रकारका साधारण दागहरू पाइन्छन्, जसलाई संयुक्त रूपमा जन्मचिनो भनिन्छ ।
अस्ट्रेलियाको मेलबर्नस्थित सेन्ट भिनसेन्ट हस्पिटल, छाला रोग विभागको तथ्यपत्र अनुसार जन्मचिनो छालामा पाइने थुप्रै संरचनाको अतिवृद्घसिँग जोडिएको हुन्छ । रक्तबाहिनीको अतिवृद्घसिँग जोडिएको भास्कुलर चिह्नलाई हिमेन्जियो समेत भनिन्छ । यस अन्तर्गत जन्मको समय स्टोर्क बाइटको नामले प्रचलित जन्मचिह्न गर्दनपछाडि रातो रंगको दागको रूपमा करिब ५० प्रतिशत शिशुमा पाइन्छ । यस्तो दाग कहिलेकाहीँ टाउकाको पछाडि खण्डमा समेत पाइन्छ ।

'यो स्थितिमा सामान्यतः अनुहारको धेरैजसो चिनो पाँच वर्षको उमेरसम्ममा हराउँछ,' कर्ण भन्छन्, 'तर गर्दन पछाडिको चिनो प्रायः कायमै रहने गरेको देखिन्छ ।'
जन्मदेखि नै देखिने ल्यालम्यान प्याचको विपरीत यस्तो चिनो जन्मको केही महिनापछाडि उत्पन्न हुन थाल्छ । यो तीव्र गतिले आधा सेन्टिमिटरदेखि बढ्दैबढ्दै धेरै सेन्टिमिटरसम्मको रातो रंगको नरम उभारका रूपमा छालामा देखिन्छ । डा. कर्णका अनुसार करिब १० प्रतिशत शिशुमा भने यो समस्या देखिन सक्छ, जसमध्ये धेरैजसो पछि बिनाकुनै उपचार खुम्चिएर छालाबाट हराउँछ ।
'कहिलेकाहीँ आँखा, नाक, कान अर्थात् अनुहारमा देखिने ठूलो आकारको यस्तो रातो दागका लागि उपचारको आवश्यकता पर्छ,' उनी भन्छन्, 'यो उपचार लेजर चिकित्साद्वारा सम्भव छ ।' यस्तै, कहिलेकाहीँ यसको वृद्घि रोक्न औषधि समेत दिने गरिन्छ ।
छालामा खैरो वा नीलो रंगको दाग पनि जन्मचिनोको रूपमा पाइन्छ । यो गहिरो रंगको छाला भएको शिशुमा बढी पाइन्छ । चिकित्सा तथ्यपत्र अनुसार ९० प्रतिशत एसियाली मूलका शिशु र पाँच प्रतिशत पश्चिमा मूलका शिशुमा यस्तो चिनो पाउने गरिन्छ ।
धेरैजसो पिठिउँको तल्लो भागमा पाइने मंगोलियन स्पट समेत भनिने यो चिनो भने समयसँगै हराउने गरेको डा. कर्ण बताउँछन् ।
जन्मको समय देखिने कोठी पछि क्यान्सरको रूपमा विकसित हुने कुनै खतरा हुँदैन । यस्तोमा कुनै प्रकारको चिकित्साको आवश्यकता नभए पनि कहिलेकाहीँ भने २० सेन्टिमिटरभन्दा ठूलो कोठी क्यान्सरको खतरा हुन सक्ने भएकोले उपचार आवश्यक छ । डा. कर्णका अनुसार शल्य वा लेजर चिकित्साद्वारा यसको उपचार सम्भव छ ।

प्रकाशित मिति: Friday, October 21, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses