रुघाखोकी किन लाग्छ ? कसरी जोगिने ?

नाक बन्द हुनु, नाकबाट पानी बग्नु, घाँटी खसखस हुनु, हाच्छिउँ आउनु, स्वर भारी हुनु, थकाइ लाग्नु, कहिलेकाहीँ ज्वरो आउनु वा टाउको दुख्नुजस्ता समस्याले रुघाखोकी लागेका व्यक्तिलाई सताउँछन् । यस्ता लक्षण तीन दिनदेखि १० दिनभित्र कम हुन्छन् ।

'चिसो याममा रुघाखोकी बढी पाइने गरे पनि रुघाखोकीसँग मौसमको कुनै सम्बन्ध हुँदैन,' 'चिसो याममा मानिसहरू झ्यालढोका थुनेर घरभित्रै बस्ने गर्छन्, त्यसैले भाइरस संक्रमण बढी हुन्छ ।
रुघाखोकी माथिल्लो सास नलीको भाइरल संक्रमण हो । यो दुई सयभन्दा बढी प्रकारको भाइरसले गर्दा हुन्छ । हरेकपटक शरीरमा नयाँ प्रकारको भाइरसले आक्रमण गरेर रुघाखोकी हुने गरेको छ । अमेरिकन लङ्स एसोसिएसनका अनुसार स्कुल जाने र प्राथमिक कक्षामा पढ्ने बच्चालाई एक वर्षमा तीनदेखि १२ पटकसम्म रुघाखोकी लाग्ने गरेको छ । किशोरावस्था र युवावस्थामा वर्षभरिमा दुईदेखि चार पटकसम्म रुघाखोकी लाग्छ ।

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का अनुसार २० वर्षदेखि ३० वर्ष उमेर समूहसम्मका महिलालाई पुरुषको दाँजोमा बढी रुघाखोकी लाग्छ । बालबालिकासँग महिलाकै निरन्तर सम्पर्क हुने गरेका कारण त्यस्तो भएको हो ।

रुघाखोकी मुख्यतः हावाका माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । रुघाखोकी भएका व्यक्तिले खोकेपछि वा नाकलाई छोएपछि अर्को व्यक्तिलाई स्पर्श गरे उसलाई पनि सर्छ । कसैका अगाडि खोक्दा पनि छेउको मान्छेलाई सर्न सक्छ । रुघाखोकीको भाइरस कलम, किताब, कम्प्युटरको कि-बोर्ड, ढोकाको ह्यान्डल, गिलासजस्ता सामानमा घन्टौंसम्म बस्ने गर्छन् । यस्ता वस्तुबाट समेत यो संक्रमण एकअर्कामा फैलने गर्छ । खोकी वा हाच्छिउँ यो संक्रमण फैलिनुको प्रमुख कारण हो ।

एनआईएआईडीका अनुसार रुघाखोकीको उपचारै छैन । तर केही घरेलु उपाय अपनाए यसबाट बच्न सकिन्छ । हाम्रो शरीरको रोग प्रतिरोधक क्षमताले भाइरसलाई नष्ट गर्न संघर्ष गरिरहेका बेला रुघाखोकी, टाउको दुखाइ, ज्वरोजस्ता लक्षण देखिन्छन् । मौसम बदलिँदा यो समस्या बढी हुन्छ ।

रुघाखोकी संक्रमणबाट जोगिनका लागि केही खानुअघि साबुनपानीले हात धुन बिर्संनुहुँदैन । संक्रमित व्यक्तिले आफ्नो तौलिया, रुमाल आदि अरूले नचलाऊन् भनेर बेग्लै राख्नुपर्छ ।
'यो स्वतः निको हुने रोग हो, बढी लक्षण देखिए घरेलु उपचार प्रभावकारी हुन्छ,' 'आफैं बाठो भएर औषधि पसलबाट किन्ने गरिएको रुघाखोकीको औषधि दुई वर्षभन्दा कम उमेरका बालबालिकाका लागि घातक हुन सक्छ ।' बालबालिकालाई एस्पिरिन र एस्पिरिनयुक्त औषधि खुवाउन हुन्न।अमेरिकास्थित फुड एन्ड ड्रग एडमनिस्ट्रेसन (एफडीए) ले पनि दुई वर्षमुनिका बालबालिकालाई चिकित्सकको सल्लाहविना किन्न पाइने रुघाखोकीको औषधि नदिन चेतावनी दिने गरेको छ । यस्ता औषधिले बालबालिकाको रुघाखोकी उपचार गर्न सक्दैनन्, तिनलाई चिसो लाग्नबाट बचाउन पनि सक्दैनन् । यस्ता औषधिको सेवनले मुटुको चाल तीव्र हुने, जीउ काम्नेजस्ता साइड इफेक्टले हुन सक्छन् ।

रुघा लाग्दा पानीको बाफ लिनु प्रभावकारी हुन्छ । ताजा हावामा सास फेर्नुपर्छ । जाडो मौसममा घरभित्र प्रायः हिटर बालिन्छ, कोठा सधैंजसो बन्द राखिन्छ । यसैले रुघाखोकीका भाइरसको संख्यामा वृद्घि हुन्छ । यसैले बिहान केही समय खुला हावामा हिँड्ने गर्नुपर्छ । रुघाखोकी लागेका बेला शरीरले आराम खोज्छ । आराम गर्दा शरीरको रोगप्रतिरोधी प्रणालीले रुघाखोकीका भाइरससँग मज्जाले संघर्ष गर्न सक्छ, अनि निको हुन्छ ।सामान्य रुघाखोकीमा एन्टिबायोटिकको कुनै भूमिका हुँदैन ।  'ब्याक्टेरियाले उत्पन्न रोगमा मात्र एन्टिबायोटिकको सेवन प्रभावकारी हुन्छ, रुघाखोकी भाइरसले हुने रोग हो ।' कहिलेकाहीँ पिनास (साइनो साइटिस) र कानका बीचमा हुने संक्रमणले पनि रुघाखोकीमा जस्तै लक्षण उत्पन्न गर्छ । यस्तो बेला नाक, कान, घाँटी (ईएनटी) रोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ । पिनासका कारण अनुहारमा पीडा हुने, पहेंलो वा हरियो सिँगान आउने, ज्वरो आउनेजस्ता संक्रमण हुन सक्छन् । यस्तोमा चाहिँ एन्टिबायोटिकसमेत उपयोग गर्नुपर्ने हुन सक्छ, तर चिकित्सकको सल्लाहले ।

रुघाखोकी सामान्य घरेलु प्रक्रियाले निको नभए, १ सय २ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको बढी दुखे, घाँटी बांगिए, वाकवाकी लागे, वान्ता भए, सास फेर्न असजिलो भए, छाती दुखे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । 'यो घाँटीको स्टेप्टोकोकल संक्रमणका कारण हुन सक्छ र यसमा एन्टिबायोटिकको सेवन आवश्यक हुन सक्छ,' ।

कहिलेकाहीँ भने रुघाखोकी गम्भीर रोगको लक्षणसमेत हुन सक्छ । रुघाखोकी लागेका बालबालिकाले सास फेर्न असजिलो भए वा तिनले छिटोछिटो सास फेरे फोक्सोको संक्रमण भई निमोनिया भएको हुन सक्छ । 'यो चाहिँ प्राणघातक स्थिति हो,' , 'यस्तो बेला प्रभावितलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।'

खोकी किन लाग्छ ?

हाम्रा दुवै फोक्सोले तीन लिटरदेखि चार लिटरसम्म वायु ग्रहण गर्न सक्छन् । हामीले प्रत्येकपटक सास फेर्दा साढे तीन सयदेखि पाँच सय मिलिलिटरसम्म वायु ग्रहण
गर्छौं । त्यो हावा नाकबाट फोक्सोसम्म पुग्ने बाटो लामो र जटिल हुन्छ । त्यसरी पुगेको हावामा उपस्थित अक्सिजन रगतसँग मिलेर सम्पूर्ण शरीरमा फैलिन्छ । श्वासप्रश्वास प्राणालीको सम्पूर्ण पाइपलाइन म्युकस मेम्ब्रेनले बनेको हुन्छ । सामान्य एलर्जी वा संक्रमण हुँदा यो झिल्लीले प्रतिक्रियास्वरूप केही द्रव्यको स्राव गर्छ । यसले श्वासप्रणालीमा एउटा बाहिरी तत्त्व (फरेन बडी) ले जस्तै काम गर्छ र खोकी लाग्न सुरु हुन्छ । श्वासप्रश्वास तन्त्रलाई पुरानो अवस्थामा फर्काउन यस्ता पदार्थलाई बाहिर फ्याँक्ने गर्नाले खोकी लाग्छ ।

रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?

चिसो र सुख्खा हावामा ननिक्लिने : चिसो याममा हावामा बाफको मात्रामा कमी हुन्छ । यो सुख्खा हावा सुन्निएको घाँटीका लागि पीडादायक हुन्छ । यो स्थितिबाट जोगिन कुनै ठूलो मुख भएको भाँडोमा पानी राखेर त्यसलाई हिटरमा राख्नुपर्छ वा कोठामा ह्युमिडिफायर लगाउनुपर्छ । अनि कोठामा बाफ उड्न थाल्छ । यसले हावामा बाफको स्तर बढ्छ र प्रभावित व्यक्तिले आराम अनुभव गर्छन् ।कुल्ला गर्ने (गार्गल): घाँटी सुन्निए केही निल्दा पनि दुख्न थाल्छ । यसबाट बच्न आधा लिटर पानीमा एक चम्चा नुन हाली उमालेर दिनमा तीन/चारपटक गार्गल गर्नुपर्छ । यसले घाँटी सुन्निन कम हुन्छ । बाहिरी वातावरण र प्रदूषणका कारण केही व्यक्तिको घाँटी बारम्बार बिगि्ररहन्छ । यस्तो अवस्थामा माथिको प्रक्रिया उपयोगी हुन्छ । गार्गल राति सुत्नुअघि र बिहान उठेपछि गर्नुपर्छ । मनतातो तरल पदार्थ  खाइराख्ने: हर्बल चिया, सुप, मनतातो पानी यसमा सबैभन्दा उपयुक्त हुन्छ । यस्तो कुरा पिउनाले घाँटी सुक्न पाउँदैन ।चिसो, अमिलो वा पिरो वस्तु नखाने: यस्ता कुरा खानाले घाँटी झन् सुन्निन्छ । त्यसैले घाँटी निको नभएसम्म यस्ता वस्तुबाट जोगिनु नै राम्रो । रुघाखोकी लागेका बेला स्वादिष्ट र ट्वाक्क स्वाद भएका वस्तु खाने इच्छा हुन्छ । तर स्वस्थ्यप्रद आहार सबैभन्दा आवश्यक हो ।

प्रकाशित मिति: Saturday, December 11, 2010

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses