त्रिभुवन विश्वविद्यालयको हविगत

काठमाडौ, मंसिर ११ - विद्यार्थी संगठनले गर्ने बन्द-हडताल तथा त्रिभुवन विश्वविद्यालयको अव्यवस्थित शैक्षिक पात्रोका कारण विश्वविद्यालयको पढाइ अस्तव्यस्त भएको छ ।

नियमअनुसार भर्ना, परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशन नहुँदा नियमित तथा आंशिक करिब २ लाख विद्यार्थी मर्कामा परेका छन् । त्रिविको स्नातक तथा स्नातकोत्तर तहमा परीक्षा नहुँदै नयाँ भर्ना गर्नुपर्ने बाध्यता छ । कक्षा सुरु भएको दस महिनामा दिनुपर्ने परीक्षा १६ महिनामा सञ्चालन हुँदा दुई वर्षमा सकिने स्नातकोत्तर तह चार वर्षसम्म पनि सकिएको छैन । तीन वर्षमा सकिनुपर्ने स्नातक नियमित परीक्षा सक्न करिब ५ वर्ष लाग्दै छ । परीक्षा भएको ३ महिनामा प्रकाशित हुनुपर्ने मानविकी संकाय स्नातक तह पहिलो वर्षको परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले ११ महिनापछि कात्तिक ३० गते प्रकाशित गरेको छ । सोही तहको व्यवस्थापन संकायको परीक्षाफल अझै प्रकाशित भएको छैन ।

२०६४ मा भर्ना हुनेको स्नातकोत्तर तह अझै सकिएको छैन । स्नातकोत्तर तह पहिलो वर्षमा अहिले दुई ब्याच अध्ययन गरिरहेका छन् । स्नातक तहको हाल पनि त्यस्तै छ । आउँदो चैतमा स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने विद्यार्थी यही महिनाको १३ गतेदेखि बल्ल दोस्रो वर्षको परीक्षा दिँदै छन् । यो परीक्षा असारमा हुनुपथ्र्यो । तेस्रो वर्षको पढाइ र परीक्षा कहिले सञ्चालन हुने टुंगो छैन । स्नातक तहको परीक्षा र परीक्षाफल तालिकाअनुसार नहुँदा विद्यार्थीले माथिल्लो तह भर्ना गर्न पाएका छैनन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार भदौदेखि स्नातक पहिलो वर्षको कक्षा सञ्चालन हुनुपर्छ । त्यसको परीक्षा असारमा र परीक्षाफल असोजमा निकाल्नुपर्छ । त्यस्तै दोस्रो वर्षको पढाइ साउनबाट, जेठमा परीक्षा र असोजमा नतिजा तथा तेस्रो वर्षको असारबाट पढाइ, चैत अन्तिम साता परीक्षा र भदौभित्रमा नतिजा प्रकाशित गरिसक्नु पर्छ ।

त्यस्तै स्नातकोत्तर तह पहिलो वर्षको असोजमा भर्ना, कात्तिकबाट पढाइ, असार साउनबीचमा परीक्षा र त्यसको तीन महिनामा नतिजा प्रकाशन तथा दोस्रो वर्षको पढाइ भदौबाट, वैशाखमा परीक्षा र साउनभित्र नतिजा प्रकाशित गर्नुपर्छ ।
०६२/६३ को राजनीतिक आन्दोलनपछि यो नियमितता खलबलिएको हो । परीक्षा नियन्त्रक दयामान कर्माचार्यका अनुसार समयमा भर्ना नहुने, सानातिना कुरामा पनि बन्द-हडताल हुने तथा विद्यार्थीको अवरोधका कारण तोकिएको समयमा गर्नुपर्ने काम सञ्चालन गर्न नसकेकाले यस्तो समस्या आएको हो । 'सामान्य कुरामा पनि बाधा-अड्चन आइरहन्छन्,' उनले मंगलबार कान्तिपुरसित भने, 'र्फम भर्न सूचना निकाल्यो, अवरोध हुन्छ । परीक्षा तालिका सार्वजानिक गर्‍यो, थेग्नै नसक्ने विरोध हुन्छ । न सार्‍यो, अनेक दबाबले काम गर्छ । परीक्षाको तालिकाअनुसार शैक्षिक गतिविधि हुने हो भने यी समस्या झेल्नै पर्थेन ।' उनले सकेसम्म नियमित तालिकाअनुसार परीक्षाका कार्यक्रम व्यस्थित गर्ने तयारी भइरहेको बताए ।

नियमित तालिकाअनुसार भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुँदा विदेश अध्ययनका लागि जाने तथा विदेसिने, स्वदेशमै रोजगारीका लागि आवेदन गर्नुपर्ने विद्यार्थी मारमा छन् । त्रिविको स्नातकमा नियमिततर्फ करिब ९० हजार र स्नातकोत्तरमा करिब ३० हजार विद्यार्थीले परीक्षा दिन्छन् । आंशिक परीक्षार्थी संख्या पनि झन्डै यसकै हाराहारीमा छ । नियमित तथा आंशिक गरेर करिब २ लाखले स्नातक र स्नातकोत्तरको परीक्षा दिन्छन् ।

प्रकाशित मिति: Saturday, November 27, 2010

यसमा तपाईको प्रतिक्रिया

1 comments

जानकारी का लागि धेरै धेरै धन्यवाद

Write Down Your Responses