दाँत र हृदयाघातका अन्तरसम्बन्ध

भनिन्छ, मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनार दानाजस्ता सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका विभिन्न प्रक्रियालाई राम्ररी सञ्चालन गर्न ठूलो भूमिका खेलेको हुन्छ । स्वस्थ दाँत र गिजाले प्रत्यक्ष रूपमा व्यक्तित्व, पाचनमा फाइदा पुर्‍याउनुका साथै रक्तनली, मुटु, फोक्सो, कलेजो, मृगौला, मस्तिष्क, प्यान्त्रिmयाजलगायत शरीरका सम्पूर्ण अंगमा पनि त्यसबाट फाइदा नै पुग्छ ।

दाँत सड्नाले संक्रमण हुन गई सेलुलाइटिस, पिनास, दिमागमा क्याभर्नस साइनस, थ्रोम्बोसिस तथा खाद्य र सास नली थिचिन गई मृत्युसमेत हुन सक्छ ।  धारिला, नमिलेका दाँत, घाउखटिरा, फोहोर तथा सुर्ती, सुपारी र मदिराजन्य पदार्थ सेवनले मुखको क्यान्सर हुने गर्छ । मुखबाट सास फेर्नु पनि शारीरिक समस्या भएकाले बच्चामा अनुहार असामान्य हुन सक्छ, दाँतको विकास र बनावटमा समस्या आउँछ । रगतमा अक्सिजनको कमी हुन सक्छ, रक्तचाप, मुटुका रोग निम्तिन सक्छन् । गिजा तथा मुखबसम्बन्धी रोग भएका व्यक्तिमा अन्यको तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिला भए शारीरिक तथा मानसिक रूपले कमजोर र समय नपुग्दै बच्चाको जन्म हुने खतरा हुन्छ ।

गिजाको रोग भए मुटुको रोग लाग्ने तथा मुटुरोगको लक्षण मुखमा पनि देखिन सक्छ । मुटुरोग र हृदयाघात हुँदा अनुहारको बायाँ भाग, तल्लो बंगारा, गिजा, चिउँडो र त्यसको वरिपरि पीडा हुने सम्भावना रहन्छ । सन् १९९० देखि नै मुटुरोग र गिजाको रोग सम्बन्धका बारेमा अनुसन्धान हुँदै आएका छन् । मुख फोहोर भएकामा मुटुरोग, हृदयाघात, स्ट्रोक, पक्षाघात र इन्डोकाडाइटिस हुने गर्छ । त्यसैमा जन्मँदादेखि नै मुटुको समस्या, बाथरोग, प्रोस्थेटिक भल्भ भएका बिरामीले मुखको सरसफाइ र दन्तउपचारमा ध्यान नदिँदा सबक्युट ब्याक्टेरियल इन्डोकाडाइटाइटिस रोग लाग्न सक्छ । आयरल्यान्डस्थित बि्रस्टोल विश्वविद्यालयको खोजले मुखमा पाइने स्ट्रेप्टोकोकस ब्याक्टेरियाको मुटुरोगसँग बलियो सम्बन्ध देखाएको छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया रक्तसञ्चारमा पुग्दा पीएडीए प्रोटिन बनाई प्लेटलेट्सलाई एकापसमा टाँसिन र जम्न लगाई मुटुरोग पैदा गराइदिन्छ ।

ब्याक्टेरिया, इन्डोटक्सिन र ब्याक्टेरियाको अन्य उत्पादन गिजा र गिजामा भएको पकेट खल्तीबाट रक्तसञ्चारमा पुगी सुनिन थाल्छ । त्यसले रक्तनलीका कोष बढ्ने र सुन्निने भई रक्तनली साँघुरो बन्छ । कलेजोलाई रगत जम्न आवश्यक पर्ने तत्त्वहरू थप उत्पादन गर्न लगाउँछ । ब्याक्टेरियाले रक्तनलीको भित्री तहमा आक्रमण गरी इन्डोथेलियल कोषलाई बिगार्छ । गिजामा हुने पेरियोडेन्टल प्याथोजेनले प्लेटलेट्स जम्मा हुने, रक्तनलीमा लेदो वा प्लक बन्न बढावा दिई अवरोध उत्पन्न गराउँछ ।

बि्रटिस जर्नलको स्कटिस हेल्थ सर्भेले अनियमित र कमपटक दाँत सफा गर्ने तथा फोहोर मुख राख्ने मुटुरोगी ७० प्रतिशत थप जोखिम हुने देखाएको छ । दैनिक २ पटक दाँत ब्रस गर्नाले सम्भावित मुटुरोगको रोकथाम गर्न सकिने निष्कर्ष उक्त जर्नलको छ । त्यस्तै क्यालिफोर्निया विश्वविद्यालयले ७ हजारभन्दा बढीमा गरेको खोजमा दाँतको सरसफाइमा ध्यान नदिनेमा हृदयाघात बढी हुने हेल्थ इकोनोमिक्समा प्रकाशित छ । सन् १९९६ देखि २००४ सम्म प्रत्येक २, २ वर्षको अन्तरालमा कतिपटक दाँत माझेको, कतिपटक
दन्तचिकित्सककहाँ गएको, हृदयाघात, स्ट्रोकको लक्षण देखिए नदेखिएका आधारमा गरिएको खोजमा दाँत तथा मुखको सरसफाइप्रति सचेतमा हृदयाघात कम देखिएको र त्यसमा पनि पुरुषभन्दा महिलामा बढी खतरा भएको पाइएको छ । मुटुरोगको प्रमुख कारणमा धूमपान र मोटोपना भए तापनि मुखमा जम्मा भएका ब्याक्टेरिया रक्तप्रवाहमा गई मुटुरोग ल्याउने गरेका थुप्रै प्रमाण फेला परेका छन् । ७० प्रतिशत सम्भावना न्यून गर्न दिनको २ पटक दाँत सफा गर्न सुझाएका छन् । मुखमा जीवाणु कम गराउने र हटाउने उपाय भनेको दाँत सफा राख्ने वा माझ्ने नै हो । दिनमा २ पटक खाना खाएपश्चात् तलमाथि गरी दाँत माझौं र अन्य समयमा कुल्ला गरी शरीरमा लाग्न सक्ने अनगिन्ती रोग, मुटुरोग र हृदयाघातलाई पर राखौं ।

प्रकाशित मिति: Sunday, December 19, 2010

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses