अब जन्मने सन्तानलाई जानी जानी मृत्युको मुखमा धकेल्न चाहन्न

  • सुस्मिता बस्नेत (नर्स) 
रिमा गर्भवती हुँदाको कुरा हो। उनको पेटमा तीन महिनाको गर्भ थियो। पेशाले उनी नर्स हुन्। एक महिनादेखि टिचिङ अस्पतालको आई.सि. यू मा कार्यरत थिइन्। 

आई.सि. यू बेड न:९ मा ब्रेन हेमरेज भएको बिरामी भर्खरै मात्र अप्रेसन थिएटरबाट रिसिव गरिएको थियो। झन्डै ८० के.जी जतिको देखिने ती .  बिरामीको अवस्था नाजुक थियो। बिरामीलाई भेन्टिलेटरबाट श्वास फेराई राखिएको थियो भने ब्लड प्रेसर कम भएकाले प्रेसर बढाउने औषधि, रगत र स्लाइन पनि संगसंगै दिई राखिएको थियो। सबैजना मिलेर बिरामीलाई अप्रेसन ट्रलीबाट उचालेर आई.सि. यू बेडमा सारियो।

बिरामीलाई स्टेबल गरिसके पछि रिमा र मैले बिरामीको डाडमा घाउ नहोस् भनेर ओल्टाई कोल्टआइ तेल लगाईदियौं। रिमा बिरामीको कुरूवालाई भर्ना सम्बन्धी जानकारी दिदै थिइन्,म चाहिँ औषधिको लिस्ट तयार पार्दै  थिएँ।

यतिकैमा बेडकै छेउ मा राखिएको मनिटरले बिरामीको मुटुको चालको गति शून्य देखाएपछि रिमा हत्त न पत्त बेडमाथि चढेर बिरामीको छाती थिच्न लागिन्। झन्डै १५ मिनेट जति छाती थिचेर औषधि दिएपछि बिरामीको मुटुको धड्कन पून : चल्न थाल्यो। यतिकैमा मेरो छेउमै उभिएकी रिमाले मलाई कोट्याउदै रिंगटा लाग्यो मात्र के भनेकि थिइन् लगत्तै भुइमा लडिन्।

बल्ल तल्ल रिमालाई उठाएर कुर्सीमा राख्यौ। भेइन खोलेर सलाइन दिएको केहि बेरपछि  उनको होस आयो। ‘ब्लिडिङ भए जस्तो छ,’ उनले भनिन्। रिमाको कम्प्लिट अबोर्सन अर्थात् गर्भ तुहिएछ। स्त्रि रोग बिशेष़ज्ञ डाक्टरले जाँचिसके पछि रिमालाई कम्तिमा एक महिनाको लागि पूर्ण रेष्ट गर्न भन्नुभयो।

रिमाले एक महिनाको बिदा फारम भरेर इन्चार्ज दिदिलाई बुझाइन्। फारम देख्ने बित्तिकै दिदीले अलि कड्कदै भन्नुभयो,’ तिमीलाई थाहा थिएन र आई.सि.यू मा धेरै काम हुन्छ, मोटो मोटो बिरामी उचाल्ने सार्ने गर्नुपर्छ भनेर? फेरि गर्भवती हुँदाहुँदै किन आई.सि.यू आएकी? अहिले त्यसै त यहाँ स्टाफ कम छन्, म तिमीलाई यति लामो बिदा दिन सक्दिनँ। ‘रिमाले आँखा भरि आँसु बनाउदै भनिन्, ‘दिदि आई.सि. यू मा स्टाफ कम छन् भनेर सुपरभाईजरले मलाई यहाँ पठाउनु भएको। मैले त गर्भवती छु भनेर पनि भनेकी थिएँ।’

अबोर्सन हुने नर्समा रिमा पहिली थिइनन्। उनीभन्दा अघि अरू तीनजना साथीहरूको अबोर्सन भएको थियो। दुई जनाको डाडको हड्डी खिएको थियो त एक जनाको खुट्टाको नसामा रगत जमेकाले औषधि खाईरहनु परेको थियो। गर्भवती महिलाले फस्ट र सेकेन्ड ट्रिमेस्टरमा आफ्नो शरीरको विशेष़ ध्यान पुर्‍याउनुपर्छ। गर्हौ भारि बोक्ने, गह्रौ समान उचाल्ने जस्ता कामहरु गर्न हुँदैन।

अस्पतालहरुमा बिरामीको चाप र नर्सको अनुपातमा ठूलो अन्तर छ। स्वदेशमा काम नपाएर नर्सहरू बिदेसिएको सुनिन्छ भने अस्पतालहरू सकेसम्म कम जनशक्तिको प्रयोग गरेर मुनाफा कमाउन सिपालु देखिन्छन्। नर्सले गर्भवती हुँदा जम्मा एक महिनाको बिदा पाऊछिन् भने २ महिनाको सुत्केरी बिदा। यो त सरकारी अस्पतालको कुरा भयो प्राइभेट अस्पतालहरुको त कुरै छाडौ।

कामको भार त छँदै  छ तोकिएको समयभन्दा बढी समय बिदा बसेमा जागिर च्वाट्। बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको मात्र दुध खुवाउनु पर्छ भनेर सिकाउने नर्सहरू आफूचाँही २ महिनाबाटै ल्याक्टोजेन खुवाउन बाध्य छन्।

सात दिनको बिदा सकेर रिमा काममा फर्किन्। अबोर्सन भएको एकमहिना बित्दा पनि उनी कम्जोर देखिन्थिन् र ज्यादै मलिन पनि। उनलाई त डिप्रेसन भएछ। यो कुरा थाहा पाएर कार्य क्षमतामा आँच आउन सक्ने भनेर नर्सिङ प्रसाशनले रिमालाई राजीनामा दिन लगायो।

आउने फेब्रुअरीमा रिमा र उनको श्रीमान् अस्ट्रेलिया उड्दै छन् भन्ने थाहा पाएर म उनलाई भेट्न गएँ। रिमाले रूदै भनिन्,‘विदेश नगएर के गर्नु? मेरो पेशाले नै मेरो बच्चाको ज्यान लियो। अब जन्मने सन्तानलाई जानी जानी मृत्युको मुखमा धकेल्न चाहन्न।’

मसँग उनलाई सम्झाउन सक्ने कुनै शब्द थिएन।

हिजै मात्र स्काइपमा मेरो र रिमा को कुरा भएको थियो। उनको पेटमा त फेरि पनि ९ महिनाको गर्भ बसिसकेको रहेछ। उनी स्वस्थ र खुसी देखिन्थिन्। कुरा गर्ने क्रममा उनले भनिन्,’हेर् सुस्मिता,  मैले बिदेशमा आएर नर्सिङ पेसाको महत्व र गरिमालाई बुझेँ। यहाँ त नर्सहरुलाई आम मानिसहरुले एन्जलको रुपमा हेर्दा रहेछन्। अस्पतालहरूले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य, सुरक्षा र जव स्याटिस्फ्याक्सनलाई  प्राथमिकतामा राखेको हुँदो रहेछ।

गर्भवती महिलालाई त अझ धेरै सुविधा हुन्छ। सबैले माया गर्छन् र सम्मान् पनि त्यतिकै। बच्चालाई दुध खुवाउन भनेर सबै जसो अस्पतालमा फिडिङ रूमको व्यवस्था गरिएको हुन्छ। अब त मैले त्यागिसकेको पेशालाई पनि फेरि अंगाल्ने निर्णय गरेकी छु। यतिमात्र होइन म त मेरो गर्भमा भएकी छोरीलाई पनि नर्स नै बन्न प्रेरित गर्नेछु।’

टिट… टिट… फोन काटिएछ। बिजुली गयो, वाइफाइ पनि गयो । मैले रिमालाई  भन्न चाहेका कुराहरु सम्झिए,‘तिमि फेरि नर्स बन्न चाहेको कुरा सुनेर म धेरै खुसी भए। तर तिमीले अब नेपाल फर्कनु पर्छ। यहाँको रोगी बिरामीलाई तिम्रो खाँचो छ। बिदेसमा सिकेका कुराहरुलाई तिमी, म र हामी जस्ता नर्सहरु मिलेर स्वदेशमा लागू गर्नुपर्छ।

परिवर्तन एक व्यक्तिबाट नै सुरु हुने हो, यो एक रातमा हुने कुरा चाहिँ होइन तर असम्भव पनि त छैन।
साभार सेतोपाटी

प्रकाशित मिति: Thursday, December 31, 2015

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses