फोर्ब्सको विश्वभरका अर्बपतिको सूचीमा चौधरीको नाम


विनोद चौधरी र उनको परिवारको सम्पत्ति ८८ अर्ब (एक अर्ब डलर) रुपैयाँ बराबर पुगेको छ । विश्वभरका अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सको सूचीमा चौधरीको नाम समावेश भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी पहिलो नेपाली हुन् । विश्वका १४ सय २६ अर्बपतिको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा परेका छन् ।

फोब्र्सले ५७ वर्षका चौधरीलाई नेपालको पहिलो अर्बपति भन्दै मुलुकभित्र भन्दा बाहिर बढी सम्पत्ति रहेको उल्लेख गरेको छ । पत्रिका सूचीमा पर्न सफल भयौं, यो ज्यादै खुसीको कुरा हो,' चौधरीले भनेका छन्, 'मुलुककै लागि पनि गर्व हो । नेपाल अब सगरमाथा, गौतम बुद्धको देशमात्र हैन, कर्पोरेट जगत्मा पनि चिनिने छ ।'  यसअघि सन् २००८ मा फोब्र्सले नै ५० करोड डलरका मालिक भन्दै उनको फिचर छापेको थियो ।

फोब्र्सले छुट्टै समूह परिचालन गरेर वाषिर्क रूपमा अर्बपतिको सूची सार्वजनिक गर्छ । यस्तो सूची २७ वर्षदेखि तयार हुँदै आएको छ । पत्रिकाले सम्पत्ति पत्ता लगाउँदा अर्बपतिको सार्वजनिक र निजी कम्पनीमा रहेको लगानी, घरजग्गा, कला, नगद र ऋण पनि हेर्ने उल्लेख गरेको छ ।

सेयर बजारमा रहेको लगानीलाई पछिल्लो मूल्यका आधारमा समावेश गरिएको हुन्छ । यस्तो सम्पत्ति अन्यसँग दाँज्ने र विशेषज्ञसँग सल्लाह पनि हुने गरेको फोब्र्सको वेबसाइटमा उल्लेख छ । एकै व्यक्ति संस्थापक र सञ्चालक भए अर्बपतिलाई परिवारसहित राखिने व्यवस्था गरिएको छ । चौधरीलाई पनि परिवारअन्तर्गत नै राखिएको छ ।

चौधरी ग्रुपअन्तर्गत १५ क्षेत्रका विभिन्न कम्पनी सञ्चालनमा छन् । मुलुकभित्र रहेको उद्योग व्यवसाय चौधरी समूह र बाहिरका व्यवसाय सिनोभेसनअन्तर्गत छन् । मुलुकभित्रका उद्योग/व्यापार तयारी खाद्य सामग्री, वित्तीय सेवा, अटोमोबाइल्स, ऊर्जा, घरजग्गा, शिक्षा, स्वास्थ्यलगायत छन् । पछिल्लो समय कम्पनीले दूरसञ्चार क्षेत्रमा पनि हात हालेको छ ।

कम्पनीले एसटीएम टेलिकम सञ्चार प्रालिको ८० प्रतिशत (८ हजार कित्ता) सेयर किनेको छ । सिंगापुरमा रहेको सिनोभेसन ग्रुपअन्तर्गतको सीजी फुड्सका तीन उद्योग भारतमा छन् ।

यी उद्योगले विभिन्न प्रकारका तयारी चाउचाउ उत्पादन गर्छ । भारत, मालदिभ्सलगायत विभिन्न होटलमा ताज समूहसँग साझेदारीमा लगानी गरेको सिनोभेसनले एसियाका अन्य मुलुकमा पनि होटल विस्तार गरिरहेको छ । जिंक नामक ब्रान्डमा संसारभर ३० वटा होटलमा लगानी गरेको यो समूहले नेपालमा पनि होटल खोल्न अध्ययन गरिरहेको छ ।

चौधरीको अन्तर्राष्ट्रिय व्यापार उनका दुई छोरा राहुल र बरुणले हेर्छन् भने नेपालको जेठा छोरा निर्वाणले सम्हालेको फोर्ब्सले लेखेको छ । व्यवसायमा अझै सक्रिय उनी पछिल्लो समय अवकाश लिने चरणमा रहेको बताउँछन् । 'म अवकाश पाउने चरणमा छु, सबै काम छोराहरूलाई जिम्मा लगाएको छु,' उनले भने, 'आफैंले रोपेको बिरुवा भएकाले हेर्ने काम भने गरिरहन्छु ।'

नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुनी व्यवस्था भए पनि चौधरी परिवारका विभिन्न व्यवसाय अन्तर्राष्ट्रिय रूपमा फैलिएका छन् । चौधरीको हालैमात्र सार्वजनिक आत्मकथामा उनले यसलाई स्वीकारेका छन् । 'नीतिगत सुधार आजसम्म हुन सकेको छैन,' चौधरीले पुस्तकमा लेखेका छन्, 'म आफ्नै ढंगले अन्तर्राष्ट्रिय विस्तारमा धेरै अघि बढिसकें ।' चौधरी समूहलाई बहुराष्ट्रिय कम्पनीका रूपमा स्थापित गर्ने अडान जारी रहेको पुस्तकमा उल्लेख छ । उनले विदेशमा पैसा लगेर नभई, व्यवस्थापन सम्हालेबापत इक्विटी सेयर पाएको र भेन्चर क्यापिटलमार्फत लगानी गरेको बताएका छन् । उनका दुई छोरा बरुण र राहुल गैरआवासीय नेपाली भएकाले उनीहरूले नै विदेशमा लगानी गरिरहेको चौधरीले बताउँदै आएका छन् ।

भारतको राजस्थानबाट आएको चौधरी परिवारले नेपालमा कपडा आयात गरेर व्यवसाय सुरु गरेको थियो । विनोदका हजुरबुवा भुरामल चौधरीले २ सय रुपैयाँ मासिक भाडा तिरेर १९९० मा न्युरोडमा पसल खोली व्यवसाय सुरु गरेका थिए । त्यसलाई उनका छोरा लुनकरणदास चौधरीले विस्तार गर्दै विराटनगरबाट जुट निर्यात गर्न थालेको चौधरी समूहको वेबसाइटमा उल्लेख छ । चौधरी समूहले २०२२ मा मोर्डन होजियारी इन्डस्टि्रजबाट मोजा उत्पादन गरेर उद्योगमा हात हालेको थियो । ekantipure


प्रकाशित मिति: Tuesday, March 05, 2013

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses