छाला जोगाऔं घामबाट

'छालाको समस्या भनेको सनस्क्रिन लोसन प्रयोगबारे ज्ञान नहुनु हो,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'छालामा हुने घामको तात्कालिक र दीर्घकालिक प्रभावबाट सनस्क्रिनको समुचित उपयोगले धेरै मात्रामा जोगिन सकिन्छ ।' उनी अधिकांश व्यक्तिले सनस्क्रिनको प्रस्तावित मात्राको दाँजोमा २५ देखि ३० प्रतिशत मात्र मात्रा उपयोग गर्ने बताउँछन् ।
युनाइटेड स्टेट इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए) का अनुसार केही सनस्क्रिनले सूर्यको पराबैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ तर सर्वेक्षणहरूले आमव्यक्ति यसको समुचित उपयोग र प्रभावकारिता बारेमा भ्रमित रहेको देखाउँछ ।
डा.कर्णका अनुसार सूर्यको पराबैजनी किरणले छालाको रंग तामाजस्तो हुनु तथा जलनको कारण हुन सक्छ । सूर्यको पराबैजनी किरणले समय अगावै बूढो बनाउँछ ।
'तामा रंगको छाला क्षतिग्रस्त छाला हो, जुन सुख्खापना, चाउरी, सेतो (खैरो) दाग तथा छालाको क्यान्सरको कारण बन्न सक्छ,' डा.कर्ण भन्छन्, 'यो क्षतिलाई सुधार गर्न सकिन्न ।'
छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन  बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सम्भव भएसम्म घामको सम्पर्कबाट टाढा रहने प्रयास गर्नुपर्छ ।
'तलाउ छेउछाउको बालुवा, पानी तथा कंक्रिट, सूर्यको अधिकतम हानिकारक किरणलाई छाया भएको ठाउँमा परावर्तित गर्छ,' डा. कर्ण भन्छन्, 'बस, कारलगायतका भmयालबाट आउने सूर्य किरणले समेत तपाईंको छालामा क्षति पुर्‍याउन सक्छ ।'
गर्मी याममा सुतीका लुगा उपयुक्त मानिन्छ । लामो बाहुला भएको सर्ट र प्यान्टजस्ता शरीर ढाक्ने कपडा लगाउँदा घामबाट जोगिन सकिन्छ ।
'लुगालाई प्रकाशको सामुन्ने राख्दा त्यसबाट प्रकाश देख्न सकिन्छ भने घाम पनि त्यसबाट प्रवेश गर्न सक्छ,' डा.कर्ण भन्छन्, 'भिजेको गन्जीमार्फत छालामा त्यतिकै प्रकाश पुग्न सक्छ, जति लुगा नलगाएको मानिसको छालामा पुग्छ ।'
घामलाई छोप्न सक्ने हयाट, गुणस्तरको चस्मासमेत गर्मी याममा उपयोगी हुन्छन् ।  केही औषधिले समेत घामप्रति संवेदनशीलता बढाउने भएकाले यस्ता औषधि सेवन गर्दा घाममा जानु हुँदैन ।
ईपीएका अनुसार पराबैजनी (युभी) विकिरणअन्तर्गत 'युभी-ए' किरण ओजोन पत्रबाट अवशोषित नहुने भएकाले छालाको भित्रसम्म पुग्छ र समयपूर्व नै बुढ्यौलीको लागि जिम्मेवार मानिन्छ । ९० प्रतिशतभन्दा बढी उमेरका छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गरेको छ ।
यस्तै, 'युभी-बी' किरण आंशिक रूपमा आकाशमै ओजोन तहले अवशोषित
गर्छ । तर पृथ्वीसम्म पुगेको 'युभी-बी' किरणले छाला डढ्नुको प्राथमिक कारण हो । विज्ञहरूका अनुसार ओजोन तह पातलिँदै जानु २१औं शताब्दीको चुनौती हुनेछ । 
छाला डढ्नमा व्यक्ति विशेषको छालाको प्रकारले समेत महत्त्वपूर्ण भूमिका खेल्छ । अमेरिकाको फुड एन्ड  ड्रग एडमिनिस्ट्रेसन -एफडीए) ले घामबाट छाला डढ्नेबारे छालाको प्रकारको नम्बर एकदेखि नम्बर ६ सम्म गरी एउटा स्केल नै विकसित गरेको
छ । कम नम्बर भएकाहरूको छाला बढी गोरो हुन्छ र छिट्टै घाममा डढ्छ भने ६ नम्बर स्केलका छाला घामबाट डढ्न अलि बढी समय लिन्छ । डा. कर्णका अनुसार नेपालीहरूको छाला अधिकांश चौथो समूहको छाला हो । यस समूहको छालामा एसपीएफ २० वा त्योभन्दा माथिको सनस्क्रिन प्रस्तावित गरिन्छ ।
कस्तो सनस्क्रिन छान्ने ?
सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) १५ भन्दा बढी भएको र जसले युबीए प्रकाशको सबै रंग (स्प्रेक्टम) लाई  रोक्न सकोस् । एसपीएफको संख्याले तपाईंलाई बताउँछ कि यसले छालालाई डढाउने तथा क्षतिग्रस्त गर्ने युबीए किरणबाट कति राम्ररी तपाईंको रक्षा गर्छ ।

एफडीएका अनुसार एसपीएफ ३० को अर्थ एसपीएफ १५ को दाँजोमा सूर्यको पराबैजनी किरणवाट दोब्बर रक्षा गर्नु भने होइन । यसको अर्थ उपयोग गर्दा एसपीएफ १५ ले 'युभी-बी' विकिरणबाट ९३ प्रतिशत रक्षा गर्छ र एसपीएफ ३० सनस्क्रिनले ९७ प्रतिशत रक्षा गर्छ ।
'यस्तो उत्पादन उपयोग गर्नबाट जोगिनुस् जसको एउटै बोतलमा पराबैजनी किरण र किटानु दुवैबाट बचाउको व्यवस्था होस्,' डा.कर्ण भन्छन्, 'यस्तो सनस्क्रिन कम प्रभावकारी हुन सक्छ ।'
तपाईंलाई बारम्बार कालोपोतो हुने गर्छ भने तपाइर्ंका लागि तेलरहित सनस्क्रिन उपयुक्त हुन्छ । कुनै सनस्क्रिनले जलन भए गन्धरहित फर्मुला उपयोग गर्नुस् ।
अनुहारको पूर्णसुरक्षा प्रदान गर्न करिब एक चम्चा जति सनस्क्रिन लोसन अनुहारमा लगाउनु आवश्यक हुन्छ । 
सनस्क्रिन क्रिम, लोसन र जेलका रूपमा बजारमा उपलब्ध छ । सामान्यतः सनस्क्रिन  सामान्य र सुख्खा छालाका लागि राम्रो मानिन्छ । यस्तै सुख्खा छाला तथा शरीरको अन्य भागमा लोसन लगाउनु सहज हुन्छ । यस्तै तैलीय छाला तथा अनुहारको दाह्रीजुँगा भएको ठाउँमा सनस्क्रिन लगाउन सजिलो हुन्छ ।
'तपाईंलाईं कुनै पार्टीमा जानु छ भने सनस्क्रिन लगाएपछि त्यसमाथि फाउन्डेसन वा पाउडर लगाउन सकिन्छ,' डा.कर्ण भन्छन् ।
यस्तै, सनस्क्रिन लगाएको २४ देखि ३६ घन्टाभित्रमा छालामा नयाँ खटिरा वा फोका आएमा सनस्क्रिनको एलर्जी बुभmन सकिन्छ । सनस्क्रिन एसपीएफ दुईदेखी ६० सम्मको पाइन्छ । तर नेपालका लागि भने एसपीएफ १५ भन्दा माथिको सनस्क्रिन प्रस्तावित गरिन्छ ।

सनस्क्रिनको उपयोग कसरी गर्ने ?
अनुहारलगायतका शरीरका नग्न भागमा घाममा निस्किनुभन्दा करिब १५ मिनेटअघि नै सनस्क्रिन लगाउनुपर्ने डा.कर्ण बताउँछन् । तर छाला सुख्खा भए बाहिर निस्कनुभन्दा १५ देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । 'नाक, गर्दन, खुट्टाको माथिल्लो भाग, कानको किनारा तथा ओठमा सनस्क्रिन लगाउन बिर्सनुहुन्न,' डा.कर्ण भन्छन् । घरबाहिर हँुदा प्रत्येक दुई घन्टामा सनस्क्रिन लगाउनुपर्छ ।

सनस्क्रिन वा सनब्लक ?
तपाईंलाई सनस्क्रिन र सनब्लकको नाममा भ्रम हुन सक्छ । दुवै नै तपाइर्ंको छालालाई सूर्यको हानिकारक किरण अर्थात् युबी -पराबैजनी) बाट जोगाउँछ ।
युबीए बढी खतरनाक हुन्छ यसले लामो समयसम्म छालामा नकारात्मक प्रभाव कायम राख्छ । जब कि युभीबीले घामले डढ्नु -सनवर्न) लगायत समस्या हुन सक्छ ।
सनस्क्रिनले भने युभीबीले गर्दा हुने छालाको क्षतिबाट जोगाउँछ । जब कि सनब्लकमा जिंकअक्साइड मिलेको हुन्छ जो युभीलाई छालामा आउन रोक्छ ।

घरमा बस्दासमेत सनस्क्रिन
हामीमध्ये अधिकांश घरमा बस्दा सनस्क्रिन आवश्यक न हुने ठान्छौं । तर डा.कर्णका अनुसार सूर्यको किरणको प्रभाव घरभित्र समेत पर्ने भएकाले घरमा बस्दासमेत सनस्क्रिन उपयोग गर्नुपर्छ । तर घरमा एसपीएफ १५को लोसन उपयोग गर्दा पुग्छ ।

प्रकाशित मिति: Saturday, April 16, 2011

यसमा तपाईको प्रतिक्रिया

0 comments

Write Down Your Responses